चमेलियाको उपकरण परीक्षण गरिँदै



विनोद सिंह विष्ट, बैतडी

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको मेसिन तथा उपकरणहरूको परीक्षण ‘ड्राइटेस्ट’ को काम शुरू हुँदैछ। जलाशय परीक्षणको काम सकिएकाले र शुक्रबारदेखि मुख्य क्षेत्रमा रहेका उपकरण ड्राइटेस्टको काम शुरू गरिने चमेलिया जलविद्युत् आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो। ड्राइटेस्टको लागि दक्षिण कोरियाबाट प्राविधिक टोली आउन लागेको छ उहँँले भन्नुभयो–‘प्राविधिक टोलीले जडान गरिएका उपकरणहरूले सही ढंगले काम गरेको छ कि छैन भनी परीक्षण गर्नेछ ’

यसअघि जेठ पहिलो साता काम शुरू गर्ने भने पनि दक्षिण कोरियाबाट प्राविधिक टोली आउन ढिलाई भएपछि परीक्षणको काम केहीपछि सरेका भए पनि मुख्य क्षेत्रका उपकरण बाहेकका अन्य क्षेत्रमा ड्राइटेस्टको काम शुरू भइसकेको उहाँले बताउनुभयो। उहँँले भन्नुभयो–‘ब्रेकरलगायतका उपकरणको ड्राइटेस्ट भए पनि मेन टर्वाइन ड्राइटेस्टको काम भने कोरियाली प्राविधिक आईसकेपछिमात्रै हुन्छ।’

ड्राइटेस्टको काम बाहेक अहिले आयोजनाको ड्याममा पानी भर्ने, सुरुङ भेरियसनका लागि खनिएका सहायक सुरुङहरू पुर्ने काम, मुख्य सुरुङको सफाई लगायत प्रसारण लाइनदेखि दायाँ–बायँँ ९⁄९ मिटर गरी १८ मिटरसम्मका रुख काट्ने काम भइरहेको जनाइएको छ। ४ वर्ष अघि निर्माण सम्पन्न भएको प्रसारण लाइनमा हावाहुरीका कारण रुख ढलेर क्षति पुर्याएको र रुखहरू काट्ने काम शुरू भइसकेको छ। आयोजना प्रमुख दाहालले भन्नुभयो–‘आयोजनाको १ सय ३१ किलोमिटर राष्ट्रिय प्रसारण लाईन विस्तारलाई असार मसान्तसम्म सक्ने लक्ष्य रहेको छ।’

नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय योजना आयोग र ऊर्जा मन्त्रालयले आयोजनाको काम समयमै सक्न निर्देशन दिएको थियो। आगामी पुसमा आयोजना सम्पन्न गर्ने लक्ष्य भए पनि निर्माण कार्यले तीव्रता पाएपछि आयोजनाका सबै काम कार्तिक मसान्तसम्ममा सकिएर उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने आयोजना प्रमुख दाहालले बताउनुभयो। इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलको काम लक्ष्यभन्दा १ महिना अगाडि नै सकिने भएपछि सिभिलतर्फको काम पनि चाँडै सकाउन निर्देशन ठेकेदार कम्पनी सीजीजीसीलाई निर्देशन दिइएको छ उहाँले भन्नुभयो–‘सिभिलतर्फको काम गरिरहेको ठेकेदार कम्पनी चाईना गेजुवा गु्रप अफ् कम्पनीज् (सीजीजीसी) लाई एक महिना चाँडै गरेर सेप्टेम्बरमा अघि नै काम सक्न आग्रह गरेका हौं)।’

आयोजनामा आर्थिक विकास साझेदारी कोष (इडीसीएफ) मार्फत नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त लगानी रहेको छ। २०६३ साल पुसमा आयोजनाको सिभिलतर्फको सबै काम चिनियाँ कम्पनी सीजीजीसीलाई दिइएको थियो। आयोजनाको निर्माण कार्यमा ढिलाई, भौगोलिक रूपमा टाढा रहेको र बैतडी र दार्चुला जिल्लामा ट्रान्मिसन लाइन बिस्तार पनि आयोजनाअन्तर्गत गरेका कारणले लागत खर्च बढेको पनि दाहालले बताउनुभयो।

साढे ८ अर्बको लगानीमा बन्न लागेको चमेलिया जलविद्युत् आयोजना निर्माण कार्य आगामी वर्षको पुसमा सकिने जनाइएको छ। वि.स. २०६८ सम्म निर्माण गरिसक्ने लक्ष्य लिइएको आयोजना वि.स. २०६२⁄६३ शुरू भएको आयोजना सुरुङ खुम्चिएकाले लक्ष्यभन्दा ५ वर्षपछि मात्रै निर्माण सम्पन्न हुन लागेको हो।
विकास निर्माणका ठुला आयोजनाहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रम अन्तरर्गत यसअघि गएको मंसिर २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र गएको माघ २९ गते ऊर्जा मन्त्री जनार्दन शर्माले चमेलियाको स्थलगत निरीक्षण गर्नु हुँदै चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सक्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्