पर्व र हिटलर सँगै



आज शुक्रबार एकसाथ दुई फिल्म रिलिजमा आउने भएका छन्। दिनेश राउतद्वारा निर्देशित पर्व र सौरभ ढकाल निर्देशित हिटलर एकसाथ रिलिजमा आउन लागेको हो।
काले दाइ काले दाइ बोलको गीतका कारण धेरैअघिदेखि नै बहुप्रतिक्षित मानिएको पर्व बुधबार राति राजधानीमा प्रिमियर गरी आज शुक्रबारबाट अल नेपाल रिलिज गर्न लागिएको हो। टिभी फिल्मी र सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निकिता पौडेल र सुवास गिरीद्वारा निर्मित फिल्मले देशभर ७० हल पाएको छ।

पर्वको विषयलाई लिएर अनौठो कथावस्तुमा निर्माण गरिएको फिल्ममा नम्रता श्रेष्ठ, कोशिस क्षत्री, माला लिम्बु, जेबिका काकी, केशव भट्टराईलगायत मुख्य भूमिकामा छन्। आई एम सरी, नोभेम्बर रेन र क्लासिक जस्ता फिल्मको निर्देशन गरेका दिनेश राउत निर्देशित पर्वमा गायक तथा फिल्मका नायक कोशिस क्षत्रीको कथा, पटकथा संवाद किरण माइकल, गीत दिनेश राउत र कोशिस क्षत्री, संगीत कोशिस क्षत्री, नृत्य कविराज गहतराज, द्वन्द्व चन्द्र पन्त, छायांकन राजेश श्रेष्ठ र सम्पादन बनिश शाहको रहेको छ। ‘प्रिमियरका सहभागीले मन पराएका छन्’, निर्माता सुवास गिरी भन्छन्– ‘आजबाट जनतामा जाँदै छ। दर्शकले पनि नयाँ स्वादका रूपमा लिनुहुनेछ भन्ने विश्वास लिएको छु।’

अष्टनारायण पिक्चर्स, न्यु क्रियटिभ मोसन पिक्चर्स र अलटरनेटिभ मोसन पिक्चर्सको ब्यानरमा चिनीमाया मानन्धरले निर्माण गरेको हिटलर पनि आज शुक्रबार नै रिलिजमा आउँदै छ। सोहित मानन्धर, मेनुका प्रधान, अर्जुन गुरुङ, कृष्णभक्त महर्जन, समिया बर्तौला, दिवस धिताललगायतले अभिनय गरेको हिटलरमा गीत नरेश भट्टराई र लोचन घिमिरे, संगीत लोचन घिमिरे, नृत्य कृष्णकुमार अछामी, द्वन्ब सूर्य थोकर लामा, छायांकन अर्जुनराज पौडेल र सम्पादन मित्रध्वज गुरुङको रहेको छ।

प्रतिक्रिया दिनुहोस्