अबको अपेक्षा



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० महिने आफ्नो कार्यकाल सकेर बुधबार राजीनामा दिएपछि त्यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चा परिचर्चा भइरहेको छ।

गएका १० महिनाको अवधिमा केही महत्त्वपूर्ण कामसमेत भएकाले प्रधानमन्त्री प्रचण्डले आफ्नो छविलाई यसपालि सुधारेको पाइएको छ। पहिलो कार्यकालमा प्रचण्डको छवि एक जना सन्कीको जस्तो भए पनि दोस्रो कार्यकाल सम्पन्न हुँदासम्म उहाँको छवि अपेक्षाकृत रूपमा एक जना परिपक्व नेताका रूपमा चित्रित भएको छ। विगतमा शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालासँग भएको भद्र सहमति तोडेको भनेर आलोचित भएका र आफैंले पनि गल्ती भयो भन्दै हिँडेका प्रचण्डले अहिले भने नेपाली कांग्रेससँग भएको भनिएको भद्र सहमतिको पूर्ण रूपमा पालना गरेको पाइएको छ। यो हिसाबले गर्दा प्रचण्ड एक जना विश्वास गर्न मिल्ने परिपक्व नेता हुन् भन्ने छाप पनि परेको छ।

उहाँको कार्यकालमा केही अप्ठेरा परिस्थिति पनि आएका छन्। सोचेको हिसाबले जनताले राहत पाउन सकेनन् होला। तर, उनको एउटै कामले ती सबै समस्याको भ्वाङ टाल्न सक्ने क्षमता राख्दथ्यो र राख्यो पनि। त्यो भनेको लोडसेडिङबाट मुलुकलाई मुक्ति हो। सर्वसाधारण जनता घण्टौंको लोडसेडिङबाट आक्रान्त रहेका थिए। जनतालाई जसरी हुन्छ उज्यालो चाहिएको थियो। त्यो उज्यालो प्रचण्ड नेतृत्वको सरकारको पालामा नै भएको छ। त्यसै गरी फास्ट ट्रइक निर्माणको जिम्मा सेनालाई दिइएको छ। स्थानीय निर्वाचन झन्डै दुई दशकपछि हुन सकेको छ र दोस्रो चरण हुँदै छ। चीनसँग अति महत्त्वपूर्ण वान बेल्ट वन रोड (ओबीओआर) सम्झौतामा हस्ताक्षर भएको छ। जनतालाई छोएका दुई महत्त्वपूर्ण कुरा भनेका लोडसेडिङको मुक्ति र स्थानीय निर्वाचन नै हुन्। दोस्रो चरणको निर्वाचन संघारमा रहेको छ र त्यो पनि समयमा हुनुपर्दछ भन्ने जनअपेक्षा छ।
यी कुराहरूले गर्दा प्रचण्ड सरकारको कार्यकाल सफल नै भएको मान्न सकिन्छ। विगतका सरकारहरूका पालामा पनि केही न केही उल्लेख्य काम भएकै हुन्।

सुशील कोइराला नेतृत्वको सरकारले संविधान ल्याउन सफलता हासिल गरेको र केपी शर्मा ओली नेतृत्वको सरकारले पनि नाकाबन्दीको डटेर सामना गरेकाले अवस्थाअनुसार ती सरकारले पनि राम्रै भूमिका निर्वाह गरेका हुन्। र, पछिल्लो सरकारको अवस्था त यस्तो आइदियो कि दोस्रो चरणको निर्वाचनसम्म प्रचण्ड प्रधानमन्त्री भए हुन्थ्यो भन्नेसम्मका अपेक्षा प्रमुख विपक्षी र सर्वसाधारण जनतासम्मबाट प्रकट भएको पाइयो। यसको मतलब हो– दोस्रो चरणको निर्वाचन निर्धारित समयमा होस् भन्ने सबैको चाहना रहेको छ। त्यसैले नयाँ सरकार नबनुन्जेलसम्म कामचलाउ सरकारको प्रमुखको हैसियतले नै भए पनि प्रचण्डले दोस्रो चरणको निर्वाचनका लागि आवश्यक प्रक्रिया मिलाउनुपर्दछ। किनकि, निर्वाचनको तिथि आइसकेको छ।

नयाँ बनेपछि काम थालौंला भनेर भ्याइने अवस्था छैन। अब जे हुनु भइसकेकाले राजीनामा दिएका प्रधानमन्त्रीको छिद्रता कहाँ कहाँ भेटिन्छ भनेर खोज्न थाल्नुभन्दा सबै पक्ष निर्वाचनमा होमिनु जरुरी रहेको छ। समग्रमा प्रचण्डको कार्यकालमा बिग्रने गरी कुनै गलत काम भएन। बरु राम्रै भयो। त्यसैले भावी प्रधानमन्त्रीबाट पनि यसको निरन्तरता मात्रै होइन अझ राम्रो काम हुने अपेक्षा देशले गरिरहेको छ। भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विगतको छवि भने त्यति राम्रो छैन। उहाँले विगतको आफ्नो छवि सुधार्नका लागि पनि यसपालि दोब्बर राम्रा काम गर्नुपर्ने खाँचो रहेको छ। यद्यपि, संसद्ले प्रधानमन्त्रीको निर्वाचन गर्ने भएकाले को बन्छ र को बन्दैन भनेर अहिले नै टीकाटिप्पणी गर्नु हतार होला। यद्यपि अब बन्ने सरकारले पनि मुलुक र जनताका दैनन्दिन समस्याको समाधान गर्दैै, संविधानको कार्यान्वयन गरेर मुलुकलाई अग्रगमन दिन सक्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्