एमालेका जिसी महानगरका मेयर लगभग निश्चित



साढे ११ हजारको अग्रता, १८ हजार गन्न बाँकी

धन बस्नेत, पोखरा
मत गणनाको बाह्रौं दिनमा आइपुग्दा नेकपा एमालेका मानबहादुर जिसी पोखरा लेखनाथ महानगरपालिकाको मेयरको जिम्मेवारी सम्हाल्दै छन्। मत गणनाको अन्तिम नतिजा सर्वाजनिक नभए पनि उनको अग्रताले मेयरका लागि स्पष्ट जितको सुनश्चितता गरिसकेको छ। अन्तिम परिणाम शुक्रबार बिहानसम्म आइपुग्नेछ।

१ लाख २५ हजार ६ सय ८० मत खसेकोमा झण्डै १ लाख ८ हजार मत अर्थात ८६ प्रतिशत मत गणना भइसकेको छ। ३३ मध्ये २९ वटाको मत परिणाम आउँदा जिसी कांग्रेसका उम्मेदवार रामजी कुँवरभन्दा ११ हजार ९ सय २ मतले अघि छन्। अब साविकको लेखनाथ नगरपालिकाका चारवटा मात्रै गन्न बाँकी छ जुन वडा एमालेका पकेट क्षेत्र मानिदैं आएको छ।

एमाले उम्मेदवार जिसीले ५१ हजार २ सय १७ मत प्राप्त गरेका छन् भने कांग्रेसका कुँवरले ३९ हजार ३ सय १५ मत प्राप्त गरेका छन्। अब वडा नम्बर ३०, ३१, ३२ र ३३ को मत परिणाम आउन बाँकी छ।

वडा नम्बर ३० मा ४ हजार ७ सय ४३, वडा नम्बर ३१ मा ३ हजार ९ सय २१, वडा नम्बर ३२ मा ४ हजार ५ सय ८५ र वडा नम्बर ३३ मा ५ हजार ४ सय ७८ मत खसेको छ।

गणना गर्न बाँकी ४ वटा वडामा कुल १८ हजार ७ सय २७ मत छ। कुँवरले जित्ने हो भने अब गणना गर्न बाँकी १८ हजार ७ सय २७ मत मध्ये १५ हजार ३ सय १५ अर्थात झण्डै ८२ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ जुन असम्भव प्रायः छ।

कांग्रेसका मेयरका उम्मेदवार कुँवरले पनि हार स्वीकार गरेका छन्। उनले अब आफूले जित्ने सम्भावना नरहेको बताउँदै जितको नजिक रहेका एमाले उम्मेदवार मानबहादुर जिसीलाई बधाई दिएका छन्।

जिसीलाई भेटेर वा फोन गरेर औपचारिक रुपमा बधाई नदिइसकेका कुँवरले भने, ‘अब मेरो जित्ने सम्भावना देखिएन, म उहाँलाई बधाई ज्ञापन गर्छु।’ उनले कांग्रेसका बलियो क्षेत्र भनेर चिनिने वडा नम्बर १ देखि १५ सम्म अग्रता लिन नसक्नु नै हारको पूर्व संकेत रहेकाले अबको वडामा कुनै आशा नै नरहेको बताए।

गणना गर्न बाँकी रहेका वडामध्ये वडा नम्बर ३१ र ३३ एमालेको राम्रो मानिन्छ भने अन्य वडा नम्बर ३० र ३२ मा कांग्रेसले प्रतिस्पर्धात्मक रुपमा आफूले जित्ने आँकलन गरेको छ। कुँवरले आफू चुनावमा पराजित भए पनि पोखरा लेखनाथ महानगरपालिकाको विकास र समृद्धिका लागि जिसीलाई आफ्नो तर्फबाट सबै सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले महानगरको विकास र समृद्धिका लागि जिसीले बोलेका र घोषणा पत्रमा उल्लेख गरेका कुरा पूरा गर्न आग्रह पनि गरे।

प्रतिक्रिया दिनुहोस्