जनप्रतिनिधिद्वारा शपथ ग्रहण



भक्तपुर, (नेस)। सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवं सदस्यहरुले बुधबार शपथ ग्रहण गरेका छन्।

सूर्यविनायकमा आयोजित निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण एवं शपथग्रहण कार्यक्रममा सूर्यविनायक नगरपालिकाका निर्वाचन अधिकृत दुर्गा गुरुङले नगर प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत र १० वटा वडाका वडा अध्यक्षहरुलाई शपथ खुवाउनुभएको थियो।

शपथ ग्रहणसँगै बुधबार नगरप्रमुख, उपप्रमुख र वडाका वडा अध्यक्षहरुले आ–आफ्नो कार्यालयमा गएर कार्यभार सम्हाल्नुभएको छ। कार्यभार सम्हाल्दै सूर्यविनायक नगरपालिकाका नगरप्रमुख थापाले जनताको काम कुनै पनि ढिलासुस्ती नगरी तीव्र गतिमा सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभयो।

उहाँले कार्यालय भवन एकदमै साँघुरो भएकाले एक महिनाभित्र अर्को भवन खोज्ने, जेष्ठ नागरिकको भत्ता सहज एवं सुलभरूपमा उनीहरुलाई वितरण गर्ने निर्णय गर्नुभएको छ।

उहाँले घोषणापत्रमा उल्लेख भएअनुसार सूर्यविनायक नगरपालिकालाई सम्वृद्ध एवं धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने घोषणासमेत गर्नुभएको छ। त्यसलगत्तै नगरप्रमुख थापाले वडाका वडा सदस्यहरुलाई शपथ खुवाउनुभयो।
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट नगर प्रमुख, उपप्रमुख र ७ वटा वडामा एमालले जित हासिल गरेको थियो भने ३ वटा वडामा नेपाली कांग्रेसले जित हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्