गर्मी अझै बढ्ने, नेपालगन्जको तापक्रम ४२ डिग्री



टीका बन्धन, काठमाडौं
केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको छ। तत्काल वर्षाको सम्भावना नरहेकाले मुलुकका अधिकांश भेगमा गर्मी अझै विज्ञहरूको ठहर छ।

सक्रिय मनसुन शुरू नभएसम्म तापक्रम स्वाभाविक रूपमा बढ्ने भएकाले गर्मी घट्न मनसुन नै कुर्नुपर्ने वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउनुहुन्छ। ‘मनसुन शुरू हुनु एक⁄डेढ हप्ताअघि प्रायः केही बढी नै गर्मी हुन्छ, अहिले प्रि मनसुनको समय भएकाले गर्मी बढ्नु स्वाभाविक प्रक्रिया हो, तापक्रम घट्न मनसुन नै शुरू हुनुपर्छ।’ –उहाँले भन्नुभयो।

मनसुन भित्रिनु अघिसम्म काठमाडौंको तापक्रम ३० डिग्रीभन्दा तल झर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागका अधिकारीहरू बताउँछन्।

मनसुन शुरू नहुँदासम्म गर्मी जारी रहने बताउँदै विभागका मौसमविद् समिर श्रेष्ठले भन्नुभयो– ‘अहिले फाट्ट फुट्ट हल्का वर्षा भए पनि प्रि–मनसुन सक्रिय हुने सम्भावना छैन, केही ठाउँमा पानी पर्यो भने पनि तत्कालै गर्मी बढ्छ।’

मनसुनअघि पाकिस्तानको थार मरुभूमिको तातो वायुको प्रभाव मुलुकको सुदूरपश्चिमी भेग र आसपाससम्म र मध्यतराईमा भारतको उत्तर प्रदेशको प्रभाव रहने विज्ञहरूको ठहर छ।

नेपालमा अंग्रेजी महिनाको जुन १० तारिखको आसपासमा मुलुककको पूर्वी भेगबाट भित्रिने मनसुन एक सातापछि मुलुकभर सक्रिय रहने गर्छ। विगतको अवस्थालाई नियाल्दा नेपालमा मनसुन भित्रिन अझै २ साताभन्दा बढी अवधि बाँकी छ।

मनसुन भित्रिनुअघि मध्यतराईसहित पश्चिम तराईसहित सुदूरपश्चिमका अधिकांश भेगको तापक्रम ४० डिग्री सेल्सियसका हाराहारीमा पुग्ने गर्छ।

प्रि मनसुनको समयमा काठमाडौंको तापक्रम ३५ दशमलव २ डिग्रीसम्म मापन भएको मौसम विभागको तथ्यांक छ। सन् १९९४ को मे र २०१२ को जुन महिनामा काठमाडौंमा ३५ दशमलव २ र २००९ को अप्रिलमा ३५ डिग्री तापक्रम रेकर्ड भएको थियो। विभागका अनुसार बिहीबार काठमाडौंमा ३० दशमलव ७ डिग्री तापक्रम रेकर्ड भएको छ।

बिहीबार अपरान्ह काठमाडौंमा हल्का वर्षापछि गर्मी केही कम महशुस गरिए पनि नेपालगन्ज, भैरहवा, धनगढी र सिमराको तापक्रम ४० डिग्रीभन्दा माथि नाघेको छ।

नेपालगन्जमा सबैभन्दा धेरै ४२, भैरहवामा ४१ दशमलव ४, धनगढी ४१ दशमलव २ र सिमरामा ४० डिग्री तापक्रम रेकर्ड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसै गरी जनकपुर, विरेन्द्रनगर, दाङ, दीपायल, विराटनगरमा क्रमशः ३९ दशमलव ६, ३८ दशमलव ७, ३८ दशमलव २, ३६ दशमलव ८, ३५ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।

प्रतिक्रिया दिनुहोस्