काठमाडौं महानगर निर्वाचन, मतपरिणाम शनिबारसम्म आउने



नेपाल समाचारपत्र
काठमाडौं
पहिलो चरणमा भएको स्थानीय निकाय निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरमा यो समाचार तयार पार्दासम्म ३२ वटा वडामध्ये तीनवटा वडाको मात्रै मत गणना बाँकी रहेको छ।

अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ। अब काठमाडौं महानगरपालिकाको ९, ११, १२, १३, १५, १०, १४ र १६ वडाको मात्रै मत गणना भइरहेको छ।

काठमाडौं महानगरपालिकामा पछिल्लो मतपरिणामअनुसार १३ वटा वडामा एमालेले विजय हासिल गरेको छ। एमालेले हालसम्म वडा नम्बर १, २, ३, ४, ७, १८, २१, २२, २३, २४, २७, ३१, ३२ मा जित हासिल गरेको छ। त्यस्तै नेपाली कांग्रेसले पनि एघारवटा वडामा जित हासिल गरेको छ। कांग्रेस हालसम्म वडा नम्बर ५, ६, ८, १७, १९, २०, २५, २६, २८, २९, ३० मा विजयी भएको छ।

काठमाडौं महानगरपालिका १ बाट एमालेका भरतलाल श्रेष्ठ विजयी हुनुभएको छ। २ नम्बरमा पनि एमाले उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ ७ नम्बरमा शुद्धकुमार डंगोल विजयी हुनुभएको छ।

यसैगरी, २७ नम्बरबाट एमालेका चिनियाँमान वज्राचार्य निर्वाचित हुनुभएको छ। वडा नम्बर २३ मा एमालेका मचाराजा महर्जन, ३ नम्बरमा एमालेका दीपक केसी, २४ मा एमालेका बालकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ।

यस्तै ३१ नम्बरमा एमालेका नारायणप्रसाद भण्डारी र ३२ मा नवराज पराजुली विजयी हुनुभएको छ।

नेपाली कांग्रेसले जितेका वडामध्ये २५ मा निलकाजी शाक्य, २६ मा खेमराज तिवारी, २८ मा भाइराम खड्गी, २९ मा कुश ढकाल, ३० मा दलबहादुर कार्की निर्वाचित हुनुभएको छ।

६ मा दीपेन्द्र लामा, ८ मा दिनेशकुमार डंगोल, १७ मा नवीन मानन्धर निर्वाचित हुनुभएको छ।

पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य ५२ हजार ३ सय ९० मतका साथ अग्रस्थानमा छन् भने कांग्रेसका राजुराज जोशी ३६ हजार ९ सय ८१ मत लिएर पछ्याइरहेका छन्। तेस्रो स्थानमा विवेकशीलकी रञ्जु दर्शना १९ हजार २ सय ५६ मत प्राप्त गरेर तेस्रो स्थानमा छिन्।

यस्तै, उपमेयरमा काग्रेंसकी हरिप्रभा खड्गी ४८ हजार १ सय १ मत लिएर पहिलो स्थानमा छिन् भने राप्रपाका राजाराम श्रेष्ठ २८ हजार ४ सय २० मतका साथ दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा साझा पार्टीका निरुपमा यादव ९ हजार ४ सय ७६ मत लिएर तेस्रो स्थानमा छिन्।

काठमाडौं महानगरपालिकामा खसेको कुल मत १ लाख ७३ हजारमध्ये अहिलेसम्म १ लाख ४० हजारभन्दा बढी मत गणना भइसकेको छ। काठमाडौं महानगरको परिणाम शनिबारसम्म आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्