वीरगन्जमा चुनावी चहलपहल यसै त राफ त्यहींमाथि ताप



कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्ज महानगरपालिकाको घण्टाघर चोक राजनीतिक रूपमा जाडो महिनामा पनि तात्ने गर्दछ। मधेस आन्दोलन निकै चिसो भएको समयमा समेत घण्टाघरको राजनीतिक गर्मीले देश नै तातेको उदाहरणसमेत छन्।

बिहीबार मध्यदिनमा वीरगन्जको वातावरण निकै तातेको थियो। प्रचण्ड गर्मीका कारण मानिसहरू छहारीको खोजीमा थिए। घण्टाघर भएकै कारण छहारीमा बस्नेहरूको पनि उत्तिकै भीड थियो। चर्को घाममा यात्रुहरू एकछिन शीतल बस्दै थिए शीतल बसेका यात्रुहरूको चासो चुनाव र राजनीति नै थियो। शीतल छहारीमा बसेकामध्ये वीरगन्जकै रानीघाट घर बताउने रमेश साहले वीरगन्जको मेयरमा आफूले तीन चार जनाको चर्चा सुनेको बताए।

उनी विश्लेषण गर्दै थिए कि मेयरमा पहिला धेरै पटक मेयरमा जितेका विमल श्रीवास्तव, कांग्रेसका पूर्व सांसद पार्टीका सभापति अजय द्विवेदीलगायत भर्खरै फोरममा लागेका उद्योगी विजय सरावगीलगायतको नाउँ उनले सुनाउँदै थिए। एमाले वीरगन्जमा कमजोर भएको तर्क गर्नेहरूको संख्या पनि थियो त्यहाँ तर एमालेले उम्मेदवारको टुंगो अझै नलगाइसकेका कारण पनि यसै भन्न नसकिने अवस्था रहेको पनि एक थरीको विश्लेषण छँदै थियो।

जेठ ३१ गतेको दिन नजिकिँदै गर्दा जति जेठको ताप वीरगन्जमा बढ्दै छ यत्ति नै राजनीतिक सरगर्मी पनि वीरगन्जमा बढेको छ। वीरगन्जमा स्थानीय तहको चुनावको माहोलले राजनीतिक तापक्रम झन्डै ७० डिग्रीको हाहारीमा पुगेको छ। मुख्य राजनीतिक शक्तिबीचको लडाइँ यो चुनावमा हुने भएकाले पनि वीरगन्जको मेयर को होला भनेर निकै चर्चा हुन थालेको छ। मेयरमा कांग्रेससहित मधेसी दलहरूको लडाइँ हुने अनुमान गरिएको छ। माओवादी र एमाले अहिलेको अवस्थामा वीरगन्जमा कम देखिएको र फोरम, कांग्रेस र राजपाको बीचमा लडाइँ हुने आँकलन यहाँका नगरबासीले गरेका छन्। यद्यपि मैदानमा अहिले यी पार्टीका उम्मेदवारहरू भोट माग्नका लागि खुलेर नआए पनि भित्रभित्र प्रयास जारी राखेको बुझिएको छ। वीरगन्जको मेयरमा यिनै अनुहारहरू आउने ती दलहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्