दुई पत्रकार र तीन शिक्षक उम्मेदवार



इलाम, ११ जेठ । आसन्न स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिन पत्रकार महासङ्घ इलाम शाखाका दुई पत्रकारले राजीनामा दिएका छन् ।

सो शाखाको कोषाध्यक्ष जय राई र कार्यसमिति सदस्य ठाकुर श्रेष्ठले आ–आफ्नो पदबाट राजीनामा दिएर नेकपा (एमाले) बाट उम्मेदवार बनेका हुन् ।

राई सूर्याेदय नगरपालिका–९र श्रेष्ठ इलाम नगरपालिका वडा नं ५ को वडाध्यक्षका लागि को उम्मेदवारी दिएका छन् ।

दुवै पत्रकारले उम्मेदवार बन्न राजीनामा दिइसकेको अध्यक्ष कोकिला ढकालले बताउनुभयो । यसैगरी निर्वाचनमा उम्मेदवार बन्न यहाँका तीन शिक्षकले पनि जागिर छाडेका छन् ।

शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाउने व्यवस्था गरेपछि राजनीतिमा लाग्ने लक्ष्यका साथ तीन शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

राजीनामा दिनेमा देउमाई नगरपालिकास्थित महेन्द्रोदय आधारभूत विद्यालयका दावा तामाङ, त्रिभुवन आधारभूत विद्यालय जर्सिङगाउँका धनबहादुर राई र इलाम नगरपालिका घोषस्थित देवकोटा आधारभूत विद्यालयकी शिक्षिका डालाकुमारी कार्की हुनुहुन्छ ।

एमालेका तामाङ नेकपा (एमाले) देउमाई नगरपालिका र राई पनि सूर्याेदय नगरपालिकाको वडाध्यक्षका लागि र कार्की नेपाली काँग्रेसबाट फाकफोकथुम गाउँपालिकाको उपाध्यक्षका लागि उम्मेदवार बनेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्