सरकारी अस्पतालको फार्मेसीमा औषधि सस्तो



चितवन, ११ जेठ । भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन् ।

सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः व्यवस्थापन हुँदै जाँदा उपभोक्ता र अस्पताल दुवैले लाभ लिन पाएका हुन् ।

अस्पतालको फार्मेसी स्टोर प्रमुख राजकुमार ढुङ्गानाका अनुसार बजारमा रु १०० पर्ने स्लाइन लगाउँदा प्रयोगमा आउने क्यानुला ननसेफ्टि अस्पतालको फार्मेसीमा रु १५ मा पाइन्छ । क्यानुला सेफ्टि अस्पतालको फार्मेसीले ८२ रुपैयाँ ७१ पैसामा बिक्री गर्दै आएको छ भने बजारमा रु १५० मा बिक्री गरिन्छ । गर्भावस्थामा आमाले प्रयोग गर्ने प्रिग्नेन्सी प्रोटिन अस्पतालको फार्मेसीमा रु २५० मा पाइन्छ भने अन्यत्र त्यसको मूल्य रु ४०० रहेको छ ।

ग्यास्ट्रिक हुँदा लगाउने प्यान्टा पराजोल ४० एमजीको इन्जेक्सन बाहिर बजारमा रु १७६ मा पाइन्छ भने अस्पतालको फार्मेसीले १०८ रुपैयाँ १० पैसामा बिक्री गर्दै आएको छ । बाहिर बजारमा रु २५ पर्ने इसिजी लिड अस्पतालको फार्मेसीमा रु सात रुपैयाँमा बिक्री गर्दै आएको स्टोर प्रमुख ढुङ्गानाले बताउनुभयो ।

अत्यधिक प्रयोग हुने ज्वरोको प्यारासिटामोल, आइब्रुफिन अस्पतालको फार्मेसीमा एक रुपैयाँ ५२ पैसामा प्रतिट्याबलेट पाइन्छ भने बाहिर बजारमा रु दुई लिने गरिन्छ । यसैको सिरफलाई अस्पतालमा २५ रुपैयाँ ५० पैसामा बिक्री गरिन्छ भने बजार मूल्य रु ३२ रहेको छ ।

क्यानुला हातमा टाँस्न प्रयोग हुने इजी फिक्स अस्पतालको फार्मेसीमा १० रुपैयाँ ८८ पैसा पर्छ भने बाहिर बजारमा रु ३५ पर्छ । यतिमात्र होइन अस्पतालको फार्मेसीले हाल बिक्री गर्दै आएका ८०० प्रकारका औषधिमध्ये अधिकांशमा लेखिएको मूल्यभन्दा सस्तोमा बिक्री गर्दै आएको छ । अस्पतालले गएको कात्तिकबाट आफँैले फार्मेसी सञ्चालन गर्दै आएको हो ।

गत वैशाख मसान्तसम्ममा रु तीन करोड सात लाख २३ हजारको औषधि फार्मेसीले बिक्री गरेको छ । सो अवधिमा फार्मेसीले रु ५५ लाख ३६ हजार नाफा आर्जन गरेको ढुङ्गानाले बताउनुभयो ।

दर तय गर्दा बजार मूल्यको भन्दा कम तय गरिएको छ । जसबाट पनि अस्पताल र उपभोक्ताले आधा आधा लाभ लिएका स्टोर प्रमुख ढुङ्गानाले बताउनुभयो । हरेक महिना बिक्री बढ्दै गएको पनि उहाँले बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले सार्वजनिक खरिद ऐनअनुसार औषधि खरिद गर्नुपर्ने भएकाले खरिदमा समय लाग्दा आवश्यक सबै औषधि पु¥याउन कठिन भए पनि सकेसम्म सस्तोमा धेरै औषधि उपभोक्तालाई दिलाउन सकिएको बताउनुभयो ।

सार्वजनिक खरिद ऐनअनुसार औषधि खरिद गर्दा कोटेसनमा १५ दिन लाग्छ भने टेन्डरमा जाँदा दुई महिना लाग्छ । अस्पतालका कतिपय चिकित्सकलाई कम्पनीले प्रभाव पारेर उसकै ब्रान्ड लेखिदिने हुँदा बिरामीले दुःख पाउने गरेका छन् । फार्मेसीले बिक्री गरेको औषधि फिर्ता हुने गरेको छ ।

गत सात महिनामा चिकित्सकले लेखेको भन्दा फरक ब्रान्ड परेपछि फार्मेसीबाट रु पाँच लाख २१ हजारको औषधि फिर्ता भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मरासिनी अस्पतालको फार्मेसीले मोलिकुल उपलब्ध गराउन सक्ने भए पनि चिकित्सकले सिफारिस गर्ने गरेका सबै ब्रान्ड राख्न नसकिने बताउनुहुन्छ ।

अस्पतालले एक हजार २०० प्रकारका औषधि फार्मेसीमा पु¥याउने लक्ष्य राखेको छ । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारी स्वास्थ्यमन्त्री गगन थापाले सस्तो र सुलभ रुपमा उपभोक्तालाई औषधि दिने उद्देश्यका साथ सरकारी अस्पतालमा सुरु गरिएको आफ्नै फार्मेसी सफल बनाउन चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताउनुहुन्छ ।

अस्पतालभित्र रहेको साझाको फार्मेसी हटाएर भर्ना भएका बिरामीका लागि छुट्टै भित्र फार्मेसी सञ्चालन गरेसँगै अस्पतालको आम्दानीसमेत बढ्ने उहाँको भनाइ छ । पहिले अस्पताल परिसरमा फार्मेसी सञ्चालन गर्नेले मासिक रु १६ लाख भाडा बुझाउँदै आएको थियो ।

अस्पतालको फार्मेसीले गत महिना रु १३ लाख ८८ हजार नाफा गरेको छ । औषधि खरिद प्रक्रिया सहज बनाउनुपर्ने बताउँदै उहाँले अन्य निर्माण र खरिद झँै औषधिको खरिद प्रक्रिया भएकाले यसलाई परिवर्तन गर्न सकेमा अधिकांश औषधि नागरिकलाई दिन सकिने उहाँले बताउनुभयो । मन्त्रालयले रु १५ लाख उपलब्ध गराएर अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न लगाएको हो । रासस

प्रतिक्रिया दिनुहोस्