त्यता लागौं



राजधानीका महानगरबाट मेयर निर्वाचित हुने क्रम शुरू भएको छ। ललितपुरमा कांग्रेसले जितेको छ भने काठमाडौंमा एमालेले जित्ने सम्भावना बढेको छ। यो क्रमले गर्दा सम्बद्ध क्षेत्रका सम्बन्धित पार्टी कार्यकर्ताहरू खुसी हुन थालेका छन्। यो स्वाभाविक पनि हो। किनकि करिब दुई दशकपछि निर्वाचन भएको छ।

तर, कतिपय काम तुरुन्तै शुरू नगरेमा जनताले धारे हात लाउने काम पनि तुरुन्तै शुरू हुनेछ। धूलो र धुवाँले राजधानी उपत्यका अहिले आक्रान्त छ। यसबाट कसरी निकास दिने भनेर पहिला सोचिहालौं। यहाँको सडकमा भएका खाल्डाखुल्डी कसरी पुर्ने भन्ने बारेमा पनि सोचौं। चुनावअघि धेरैले धेरैथरि गफ दिने काम भएको छ।

मेट्रो रेलदेखि मोनो रेलसम्मका कुरा आएका छन्। तर, ती काम गर्दै गर्नुहोला। सबैभन्दा पहिला धुवाँ र धूलोबाट राजधानीबासीलाई मुक्त गर्नुस्। राजधानीको अस्तव्यस्ततालाई चिर्नुस्। नत्र अर्कोपालि जनताले साह्रै नराम्रो परिणाम दिनेछन्। यतातर्फ चाहिँ हेक्का राख्नुपर्ला। धरहरालाई यस्तै लागेको छ पाठकवृन्दलाई कस्तो लागेको छ कुन्नि?

प्रतिक्रिया दिनुहोस्