राहतको ट्याक्सी नम्बर असारमा मात्रै



काठमाडौं, (नेस)
सरकारले भूकम्पपीडितका लागि राहत स्वरूप वितरण गर्ने भनिएको ट्याक्सी नम्बर असारको दोस्रो साता वितरण गरिने भएको छ। यातायात व्यवस्था विभागले ट्याक्सी वितरण कार्यक्रम दोस्रो चरणको स्थानीय निकाय चुनावका कारण रोकिएको जनाएको हो।

यातायात व्यवस्था विभागले यही जेठ १३, १४ र १५ गते ट्याक्सी वितरण कार्यक्रम राखेको थियो। निष्पक्षता कायम राख्ने लक्ष्यसहित टेलिभिजन प्रत्यक्ष प्रसारणमा गोला प्रथाका माध्यमबाट छानिने कार्यक्रम सारिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै पाण्डेले भन्नुभयो–‘चुनावका आचारसंहिताका कारण चैतमा नम्बर बाँड्न सकेका थिएनौं, दोस्रो चरणमा हुने चुनावकै कारण वितरण कार्यक्रम सार्नुपर्यो।’

विभागले यसअघि पनि चैत २६ गते ट्याक्सी नम्बर वितरण कार्यक्रम राखेको थियो। सरकारले भूकम्प प्रभावित १४ जिल्लाका स्थानीयलाई राहतस्वरूप निःशुल्क ट्याक्सी नम्बर उपलब्ध गराउने निर्णय गरेको थियो। त्यही अनुसार यातायात व्यवस्था विभागले गत साउन ५ देखि भदौ ५ गतेसम्म आवेदन फारम खुल्ला गरेको थियो।

एक महिनाको अवधिमा झन्डै १ लाख ४९ हजार ५ सय ५८ पीडितले ट्याक्सीको फारम भरेका थिए। तीमध्ये १ हजार ५ सयले मात्रै गोला प्रथाबाट नयाँ ट्याक्सीको नम्बर पाउने यातायात व्यवस्था विभागले जनाएको छ।
साधरणतया ट्याक्सी नम्बर पाउन ५ लाखभन्दा बढी तिनुपर्ने हुन्छ। यसक्रममा ठूलै आर्थिक चलखेल रहने सेवाग्राहीको गुनासो छ। यही जनगुनासोलाई मध्येनजर गर्दै राहत वितरण कार्यक्रम गोला प्रथाबाट गर्न लागिएको विभागको भनाइ छ।
विभागले नयाँ ट्याक्सीको नम्बरका विषयमा मात्रै निर्णय भएको भएको बताएको छ। ट्याक्सी किन्दा सहुलियत दिने विषयमा भने कुनै निर्णय नभएको विभागले जनाएको छ। भूकम्पपीडितलाई स्वरोजगार बनाउने लक्ष्यसहित गर्दै सरकारले २०७२ जेठमै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरणका लागि दर्ता खुलाउने निर्णय गरेको थियो।ट्याक्सी दर्ता आवेदन फारमबाट कूल १ करोड ४९ लाख ५५ हजार ८ सय रुपियाँ राजस्व उठेको थियो।

प्रतिक्रिया दिनुहोस्