चेल्सीले विजय जुलुस ननिकाल्ने



लन्डन, (एजेन्सी)
इंग्ल्यान्डको म्यानचेस्टर शहरमा सोमबार राति भएको बम विस्फोटनको दुःखद घटनापछि प्रिमियर लिग च्याम्पियन चेल्सीले जुलुस निकाल्ने कार्यक्रम रद्द गरेको छ। म्यानचेस्टर एरेनामा भएको कन्सर्टमा आत्मघाती बम विस्फोटनले कम्तीमा २२ जना व्यक्तिको ज्यान गएको थियो। चेल्सीले संयुक्त अधिराज्यमा डरलाग्दो आतंक भइरहँदा विजयी जुलुस निकाल्ने नसुहाउने भनेको थियो। चेल्सीले खुला बसमा ट्रफीसँगै र्याली निकाल्ने योजना बनाएको थियो।

त्यस्तै शनिबार हुने एफए कप फाइनल जितेमा आर्सेनलले पनि कुनै पनि विजयी जुलुस ननिकाल्ने बताइसकेको छ। आर्सेनलले प्रिमियर लिग च्याम्पियन चेल्सीसँग खेल्दै छ। त्यस्तै इमिरेट्समा हुने खेलको ठूलो स्क्रिनमा प्रसारण गर्ने पनि रद्द गरिएको छ। साथै समर्थकलाई बम विस्फोटकका पीडितका लागि चन्दा दिन पनि अनुरोध गरिएको छ। त्यस्तै आक्रमणमा परेकालाई सहयोग गर्न खेलाडीले चन्दा दिने पनि चेल्सीले जनाएको छ। बेम्बलीमा हुने फाइनलको दौरान खेलाडीले पाखुरामा कालो पट्टी बाँध्ने पनि क्लबले जनायो।

यसै गरी पीडितका लागि सम्मान गर्न युरोपा लिग फाइनल अघि हुने उद्घाटन कार्यक्रमलाई पनि छोटइउने बताएको छ। युरोपा लिग खेल्ने म्यानचेस्टर युनाइटेड र आयक्स दुवै टिमका खेलाडीले स्टोकहोममा पाखुरामा कालोपट्टि बाँधेर खेल्नेछन्। खेलअगाडि एक मिनेटको मौनधारण पनि गर्नेछन्।

यस्तै हेडिंग्लीमा भएको इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो एकदिवसीय खेल हुनुअगाडि दुवै टोलीका खेलाडी काँधमा काँध मिलाएर एक मिनेटको मौन धारण गरेका थिए। दुवै टोलीका खेलाडीले लिड्स मैदानमा पाखुरामा कालोपट्टि बाँधेर सहभागी जनाएका थिए।

फुटबल क्रिकेट मात्रै होइन अन्य खेलमा पनि सो आतंकित घटनामा परेर निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्ने भएको छ। यसै साताको मोनाको ग्रान्ड प्रिक्सको सन्ध्यामा फरमुला वानले मौन धारण गर्ने अपेक्षा गरिएको छ। एफ वानका टिममा धेरै जसो ब्रिटेनका छन्। उनीहरूले कारलाई म्यानचेस्टरतिर चलाउने पनि स्वीकार गरेका छन्। जेन्सन बटनले बताए– ‘मेरो विचारमा हरेकलाई सो घटनाबाट असर परेको छ। सबैभन्दा मुटु टुक्रइउने कुरा यो छ कि हरेकको जीवन महत्त्वपूर्ण छ तर कन्सर्टमा प्रायजसो बच्चा र युवा बढी थिए।’
टुरेद्वारा १ लाख सहयोग
म्यानचेस्टर एरेनामा भएको आक्रमणमा परेका पीडितलाई सहयोग स्वरूप म्यानचेस्टर सिटीका मिडफिल्डर याया टुरेले १ लाख पाउन्ड दिएका छन्। २२ जनाको निधन र ६४ जना घाइते भएको उक्त दुःखद घटनाबाट टुरे ज्यादै स्तब्ध भएको उनका प्रतिनिधि डिमिट्री सेलुकले बताए। सेलुकले बीबीसी स्पोर्टसलाई बताए– ‘हामी पीडितहरू निधन भएकाका परिवार र अस्पतालमा उपचार्थ भर्ना भएकालाई सहयोग गर्न चाहन्छौं। मैले यायालाई मंगलबार यो कुरा बताउँदा उनी भयानक खबर सुनेर ज्यादै स्तब्ध भएका थिए।’

प्रतिक्रिया दिनुहोस्