रहेनन् जेम्स बन्ड



ख्यातिप्राप्त हलिउड सिरिज जेम्स बन्डका अभिनेता सर रजर मुरको निधन भएको छ। क्यान्सरसँग जुधिरहेका उनको मंगलबार स्विजरल्यान्डमा निधन भएको बीबीसीको अनलाइन संस्करणमा जनाइएको छ।

उनले जेम्स बन्ड सिरिजको सात फिल्ममा ००७ को रोलमा अभिनय गरेका थिए। जेम्स बन्ड सिरिजको लिव एन्ड लेट डाइ र ए व्यु टु किलजस्ता फिल्ममा रजर मुरले प्रसिद्धि कमाएका थिए।

भनिन्छ कि रजरले ००७ को रोललाई गम्भीरताको कैदबाट निकालेर त्यसमा हास्य र विनोदको मिश्रण गरेका थिए। उनको अन्तिम इच्छाअनुसार रजरको अत्येष्टि एक निजी समारोहमा मोनाकोमा गरिनेछ। ००७ को भूमिकाबाहेक रजरले टेलिभिजन सिरिज द परसुएडर र द सेन्टमा पनि काम गरेका थिए।

लेखक इयान फ्लेमिङद्वारा लिखित उपन्यासमा आधारित जेम्स बन्डमा अभिनय गरी ख्याति कमाएका बेलायती अभिनेता मुरले सन् १९५३ देखि अभिनय यात्रा शुरू गरी सन् १९९६ सम्म सक्रियरूपमा सिनेमा क्षेत्रको प्रगतिका लागि काम गरेका थिए। उनी ८९ वर्षका थिए।

प्रतिक्रिया दिनुहोस्