पर्व हाम्रा लागि च्यालेन्ज होः सुवास गिरी



सिन्धुलीका ३५ वर्षीया युवा सुवास गिरी मेनपावर र होटल व्यवसायमा सक्रिय हुँदाहुँदै फिल्म निर्माणमा आकर्षित भए। हो यही माया हो नामक फिल्म निर्माण गरेर फिल्म निर्माणको क्षेत्रमा होमिएका उनले त्यसपछिका दिनमा नोभेम्बर रेन र क्लासिकजस्ता बहुचर्चित फिल्म निर्माण गरे। उनले टिभी फिल्मीसँगको साझेदारीमा निर्माण गरेको पर्व भोलि शुक्रबारदेखि अल नेपाल रिलिज हुँदै छ भने अभिनेता तथा निर्माता निर्देशक भुवन केसीसँगको साझेदारीमा निर्माणाधि फिल्म कृ निर्माणकै चरणमा छ। उनीसँग गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छः

लगातार फिल्म निर्माण गरिरहनुभएको छ, फाइदा भएर हो?

फिल्म बनाउने क्रममा शुरू शुरूमा त लस नै भयो। मैले फस्ट फिल्म हो यही हो मायामा लस बेहोर्नुपर्यो। त्यसमा लगानी गरेको सम्पूर्ण रकम घाटा हुन पुग्यो। तर पहिलो फिल्ममै घाटा भए पनि म रोकिइनँ। पहिलो फिल्मबाट घाटा भए पनि राम्रो फिल्म बनायो भने अर्डियन्सले माया गर्ने आशाले निरन्तर फिल्म बनाउँदै गएँ। त्यसपछिका फिल्म नोभेम्बर रेन र क्लासिकबाट फाइदा पनि हुँदै गयो। अहिले टिभी फिल्मीको निर्माणमा मेरो ब्यानर सुवास इन्टरटेनमेन्टको सहकार्यमा पर्व बनाएको छ। जो यही शुक्रबारदेखि रिलिज हुँदै छ। अर्को फिल्म कृ पनि निर्माण भइरहेको छ।

फिल्म निर्माणको क्षेत्रमा के आकर्षण छ?

फिल्म निर्माणको क्षेत्रलाई मैले आकर्षणभन्दा पनि व्यापारको हिसाबले हेरेको छु। विस्तारै यो क्षेत्र व्यावसायिक हुँदै गएकाले यसलाई व्यापारिक रूपमै अगाडि बढाएको हुँ। पर्व र कृले पनि यो पुष्टि गर्छ भन्ने लाग्छ। यी फिल्म विदेशमा सम्पूर्ण ठाउँमा बिक्री भइसकेको छ। कृ ओभरसिज ८० लाख रुपियाँमा बिक्री भइसकेको छ भने पर्व ५० लाख मेन मेन देशमा बिक्री भइसकेको छ।

पर्वबाट कस्तो आशा गर्नुभएको छ?

पर्व फिल्म हाम्रो टिमकै लागि च्यालेन्ज हो। यो फिल्म हामीले बडो हिम्मत गरेर बनाएका छौँ। यो एउटा हाम्रो भिन्दै कोसिस हो। पर्वलाई तपाईंले चलिरहेको ट्रेन्डभन्दा फरक पाउनुहुनेछ। फरक सब्जेक्ट भएकाले दर्शकले पनि यसलाई फरक स्वादका रूपमा ग्रहण गर्नुहुनेछ भन्ने विश्वास हामीले गरेका छौं।

तपाईं कहिले आर्यन सिग्देलसँग, कहिले टिभी फिल्मसँग त अहिले भुवन केसीसँग मिलेर फिल्म निर्माण गरिरहनुभएको छ। संयुक्त निर्माणका फाइदा र घाटा के छन्?

यसमा घाटा छैन, फाइदै हुन्छ भन्ने मैले अनुभव गरेको छु। मरो बुझाइमा फिल्म मेकिङ भनेको टिमवर्क हो। त्यसैले टिम भयो भने फिल्म पनि गतिलो र बलियो बन्छ। पहिलो फिल्म मैले एकलरूपमा बनाएँ। त्यसैले धेरै कुरामा चुकें। संयुक्तरूपमा फिल्म बनाउँदा र सहकार्य गर्दा उहाँहरूको पनि विचार र कन्सेप्ट सेयरिङ हुन्छ। त्यसले गर्दा फिल्म पनि राम्रो बन्छ। त्यसैले मलाई लाग्छ फिल्म मेकिङ भन्ने कुरा एक्लै गर्ने होइन, टिमले गर्ने हो। सहकार्य गर्दा फिल्म पनि राम्रो बनेकाले त्यसलाई निरन्तरता दिएको हो।

पर्व र कृपछिको योजना के छ?

पर्वपछि अर्को फिल्म पनि पाइपलाइनमा छ। भुवन केसीसँगको सहकार्यमा बनिरहेको कृपछि आफ्नै निर्माण बनाउने गरेर अर्को फिल्मका लागि स्क्रिप्टमा बसिरहेको छु। वर्षमा एउटाचाहिँ आफ्नै फिल्म गर्ने भन्ने कुरा हो। त्यसबीचमा अरू राम्रो प्रोजेक्ट आयो भने त्यसमा पनि सहकार्य त गर्ने नै छु। यसको स्क्रिप्ट कृ लेख्ने भाइ आशिष रेग्मी र मैले लेखिरहेका छौँ। त्यसैले निर्देशकदेखि कलाकारसम्म केही पनि फाइनल गरेको छैन। ड्राफ्ट बन्नेबित्तिकै अरू कुरा फाइनल गर्छु।

प्रतिक्रिया दिनुहोस्