देउवाले डाके बैठक



रामकृष्ण चापागार्इं, काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिएपछि भावी प्रधानमन्त्रीका रूपमा रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका बारेमा छलफल गर्न आज बिहीबार पदाधिकारी बैठक आह्वान गर्नुभएको छ।

दोस्रो चरणको स्थानीय निकायको निर्वाचन आउन ३ साता मात्रै बाँकी रहँदा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि कांग्रेसभित्र सभापति देउवाले प्रधानमन्त्री बन्न हतार गरेको भन्ने टिका टिप्पणी भइरहेको छ। आज बस्ने पदाधिकारीको बैठकले सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने बारेमा केन्द्रित हुने स्रोतले जानकारी दिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउँदा कांग्रेस–माओवादी बीच प्रचण्ड नेतृत्वको सरकारले स्थानीय निकाय निर्वाचन गर्ने र अन्य दुई तहको निर्वाचन देउवाको नेतृत्वमा गर्ने भनि सहमति भएको थियो।

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने क्रममा पनि राजनीतिमा इमानदारीताको खडेरी हटाउन नेपाली कांग्रेससँग भएको पूर्वसहमतिअनुसार नै आफूले राजीनामा दिएको बताउनुभएको थियो।

कांग्रेस नेता डा. रामशरण महतले नयाँ सरकार गठनका लागि छलफल गर्न आज कांग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बैठक डाकिएको बताउनुभयो। दोस्रो चरणको निर्वाचनको तयारीमा व्यस्त हुनुपर्ने बेला यो सरकार गठनको प्रक्रियामा लाग्दा नेपाली कांग्रेसको निर्वाचनको तयारी कमजोर हुन्छ कि भन्ने प्रश्नमा डा. महतले भन्नुभयो– ‘सभापति देउवाले प्रधानमन्त्री बन्न हतार गर्नुभयो।’

संविधानको धारा २९८ को उपधारा २ अनुसार राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री छानिनेछ। राजनीतिक सहमतिमा प्रधानमन्त्री छनोट हुन नसकेमा प्रधानमन्त्रीको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ। संविधानको धारा २९८ को उपधारा ३ मा सहमति कायम हुन नसके व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने उल्लेख छ।

प्रधानमन्त्रीका लागि एउटा मात्र उम्मेदवारी परेमा सभामुखले उक्त उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा व्यवस्थापिका संसद्मा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा सम्बन्धित उम्मेदवार प्रधानमन्त्री पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ। व्यवस्थापिका संसद्मा अहिले ५ सय ९५ जना सदस्य कायम रहेका छन्। बहुमतबाट प्रधानमन्त्री बन्नका लागि २ सय ९८ मत चाहिन्छ। जसमा नेपाली कांग्रेस र एमाओवादीको मात्र २ सय ८९ सदस्य छन्।

कांग्रेसबाट प्रधानमन्त्रीका लागि सभापति शेरबहादुर देउवा निर्विकल्प उम्मेदवार हुनुहुन्छ। कांग्रेस विधानमा प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने उल्लेख छ। संसदीय दलको नेता सभापति देउवा नै हुनुहन्छ।

सहमतिको सरकार गठनको म्याद सकिएपछि वहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न कम्तिमा पनि ३ दिन लाग्ने भएकाले १० दिनअघि नयाँ सरकार नहुने बताइएको हो। पहिलो चरणको निर्वाचनमा अनपेक्षित हार व्यहोरेको कांग्रेस नेतृत्व अब करिब २ साता सत्ताकै गतिविधिमा व्यस्त हुने अवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्