संयम देखिए प्रचण्ड



बीपी साह, काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अथ्र्याउँदा चर्को अथवा उग्र भन्ने हिसाबले धेरैले लिने गरेको पाइन्छ। तर, हिजो बुधबारको प्रचण्ड अलिक फरक र संयम देखिएको धेरैले टिप्पणी गरे। प्रधानमन्त्री पदबाट राजीनामा दिंदाको घडी जो कोहीका लागि दुःखदायी हुन्छ तर प्रचण्डले ती दुःखदायी क्षणलाई निकै संयमताका साथ ‘ट्याकल’ गरेको पाइयो। उहाँको भाषण र भावले उहाँको कार्यकाल सफल रहेको दर्शायो। बाहिर त्यही चर्चा चल्यो, ‘प्रचण्ड अब नेता भए’।

१० वर्षे ‘जनयुद्ध’ लडेर पहिलोपटक प्रधानमन्त्री भएको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यसबेला सैनिक शैलीको शासन गर्न खोजेको आरोप धेरैले लगाएका थिए। हुनत हजारौंको हत्याबाट जन्मेको शक्ति र देशको पहिलो पार्टी हुनाले केही अहमता हुनु स्वभाविकै थियो। तर त्यही स्वभाविक अहमताले उहाँले प्रधानमन्त्री पद छोड्नुपरेको थियो।

त्यसपछिका समयमा निकै आक्रामक प्रचण्डले ठक्कर पनि निकै खानुपर्यो। माओवादी पहिलोबाट तेस्रो शक्तिमा झर्यो तर दोस्रोपटक प्रम पद पनि आइलाग्यो। त्यसपछिको सोचाइमा फरक देखियो।

दोस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डको कार्यकाल त्यति नराम्रो भएन। आर्थिक बृद्धिदर होस् वा संविधान कार्यान्वयनका सवाल, यी दुबै पक्षमा केही न केही सफलता मिल्यो।

प्रचण्ड अघिका प्रधानमन्त्री केपी ओलीको कार्यकालमा छिमेकी मुलुकसँगको सम्बन्ध पनि चिसिएको थियो। जसका कारण सर्बसाधारणले दुःख पाएका थिए। प्रचण्ड प्रधानमन्त्री भएलगत्तै दुबै छिमेकीमा दुई उपप्रधानमन्त्रीलाई दूतका रूपमा पठाएर सम्बन्ध सुधारको प्रयास भयो।
राष्ट्रिय राजनीतिमा पनि प्रचण्डले कुनै पक्षलाई पेलेर जान खोजेको देखिएन। यद्यपि संविधान संशोधन र मधेस आन्दोलनको सफल अवतरण हुन सकेन। संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाइयो। विकास निर्माणका कार्यक्रमहरू पनि अगाडि सारिए। तर, मुख्य रूपमा संविधान कार्यान्वयनका लागि आवश्यक स्थानीय तहको निर्वाचन गराइयो। पहिलो चरणको निर्वाचन सफलतापूर्वक गराउनु प्रचण्डका लागि निकै सकारात्मक पक्ष रह्यो। जुन निर्वाचनलाई प्रतिपक्षीले पनि सहजै स्वीकार गरे।

प्रचण्डद्वारा राजीनामा दिनुअघिको भाषणमा एउटा वाक्य निकै गजबको थियो –‘हाम्रो राजनीतिको सबैभन्दा ठूलो समस्या राजनीतिक नेतृत्वमा इमानको कमी र उपयोगको संस्कृति हो। इमानदार भएर भन्नुपर्दा हामी सबै कुनै न कुनै रूपमा त्यो संस्कृतिका शिकार छौं। दल र नेताहरूबीचमा पटकपटक भएका लिखित र अलिखित सहमतिहरू रातारात च्यातिएका थुप्रै उदाहरण छन्।’

यसअघिको सरकार अर्थात ओली नेतृत्वको सरकारले सहमति पालना नगरेपछि प्रचण्डले एमालेसँगको गठबन्धनलाई तोडेर कांग्रेससँग सहमतिका आधारमा सरकार निर्माण गर्नुभएको थियो। उहाँले राजीनामा दिएर इमानदार नेताको रूपमा पनि छवि बनाएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्