एमालेले माग्यो यस्तो प्रतिवेदन



नेकपा (एमाले) स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठक पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। बैठकले पहिलो चरणको निर्वाचनको अनुभवहरूबाट शिक्षा लिंदै दोस्रो चरणको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारहरूलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिंगो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको छ ।

बैठकले पहिलो चरणको निर्वाचनका सन्दर्भमा निम्न विषयमा आधारित भएर तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन सबै जिल्ला कमिटीहरूलाई निर्देशन गर्ने निर्णय गरेको छ । साथै, विस्तृत समीक्षा प्रतिवेदन छिटोभन्दा छिटो तयार गरी केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन गरेको छ ।

१. नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा सबै उम्मेदवारले प्राप्त गरेको मत परिणाम ।
२. नगरपालिका र गाउँपालिकामा नेकपा (एमाले)का तर्फबाट विजयी बनेका प्रमुख⁄उपप्रमुख, अध्यक्ष⁄उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूको नामावली ।
३. निर्वाचनमा विजयी हुनुका पाँच आधार र निर्वाचनमा पराजित हुनुका पाँच कारण ।
४. निर्वाचनका क्रममा प्रशासनको भूमिका ।
५. पार्टीको आन्तरिक परिचालन तथा उम्मेदवार तालमेलको प्रभाव र अनुभव ।
बैठकले नेपालको संविधानअनुरुप गठन हुने जिल्ला समन्वय समिति र गाउँ तथा नगर कार्यपालिकामा सदस्यहरूको मनोनयनका निम्ति तत्कालै आवश्यक प्रबन्ध गर्न सम्पूर्ण मातहत कमिटीहरूलाई निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्