नमुना मतदानमा २० प्रतिशत मत बदर



लक्ष्मीकुमार साह, महोत्तरी ।
महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकाको मटिहानीमा गरिएको नमुना मतदानमा २० प्रतिशत मत वदर भएको देखिएको छ ।
महोत्तरीको मटिहानीमा निर्वाचन कार्यालय जलेश्वरद्धारा गरिएको नमुना मतदान शिक्षामा खसेको ५० मतमा ४० सदर र १० बदर भएको जिल्ला निर्वाचन अधिकारी पिंकी रायले जानकारी दिईन् ।

मत बदर हुनुमा बैलेट पेपर जटिल तथा आकार ठूलो भएको, मतदाताले मत कसरी हाल्ने त्यस सम्बन्धमा नजानेको, एउटै महलमा दुईटाको स्वास्तिक छाप लगाएको जस्ता कारणले मत बदर भएको उनले बताईन् ।

उनले मत बदरलाई रोक्नको लागि मतदाता शिक्षा व्यापक रुपमा परिचालन गर्नुपर्ने साथै हरेक राजनीतिक दललगायत विभिन्न वर्गहरुलार्ई पनि यसमा सक्रीय हुन आवश्यक रहेको बताईन् ।

निर्वाचन कार्यालय महोत्तरी र बाग्मती सेवा समाज सर्लाहीले पनि मतदाता शिक्षा कार्यक्रम विभिन्न ठाउ ठाउमा सञ्चालन गरी नमुना मतदान शिक्षा गरिरहेको छ । बाग्मती सेवा समाजका जिल्ला संयोजक नागेन्द्रकुमार कर्णले गाउँ गाउँमा अहिले नमुना मतदान गराईरहेको बताउँदै निर्वाचन शिक्षा बढी भन्दा बढी दिनुपर्नेमा जोड दिए ।

निर्वाचन अधिकारी राय भन्छिन्– नमुना मतदानमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता देखिएको बताउदै मतदाताहरु मतपत्रमा छाप कहाँ, कसरी लगाउने सो सम्बन्धमा रुची देखाउने गरेको बताईन् । हामीले पनि मतदाताहरुलाई मतपत्र बदर हुनबाट रोक्ने जानकारीहरु दिने गरेको अधिकारी रायको कथन थियो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा २० प्रतिशतभन्दा बढी मत बदर भएको देखिएकोले दोश्रो चरणमा मत बदर हुनबाट रोक्न सबैले आ आफ्नो ठाउँबाट मतदाता शिक्षा दिनुपर्ने देखिएको बाग्मती सेवा समाजको कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्