एकसातादेखि गोरखा पत्रकार भट्टराई हिरासतमा



सन्तोष अधिकारी, गोरखा । गोरखाका पत्रकार विकास भट्टराई एकसाता देखि जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा छन् । उनलाई प्रहरीले झुठो मुद्दा लगाएर हिरासतमा राखेको हो ।

मतगणनामा प्रहरीसँग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्दा लगाइएको हो । तर, पत्रकार भट्टराईले प्रहरी सँगको विवाद गरेका थिएनन् । भट्टराईलाई पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा सँग एकआपसमा कुरागर्दागर्दै केहि कुरा गर्नुछ भनेर पक्राउ गरि हिरासतमा लगिएको हो ।
पत्रकार महासंघ ललितपुर शाखाका सदस्य, जनता टेलिभिजनका गोरखा संवाददाता तथा नेटपत्रिका अनलाईनका सम्पादक भट्टराईलाई प्रहरीले माथिको आदेश भन्दै हिरासतमा राखेको हो ।

‘गत २ गते म टेलिभिजनमा लाईभ (प्रत्यक्ष कुराकारी) गरेर पत्रकार महासंघ गोरखाको अध्यक्ष किशोरजंग थापासँग गफ गरेर बसिरहेको थिएँ’, प्रहरी हिरासतमै रहेका पत्रकार भट्टराईले भने ‘तपाईँ सँग केहि कुरा बुझ्नु छ, सोध्नु छ प्रहरीकोमा जाउँ भने, प्रहरी कार्यालय पछि न कुरा गरे न केहि सोधे सिधै हिरासतमा राखेर अनुसन्धानका लागि भन्दै म्याद थप गरी मुद्धा चलाए ।’

प्रहरीले भने उनी विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सदस्य भएको आरोपमा उनलाई प्रक्राउ गरेको जनाएको छ । प्रहरीले विना कारण मुद्धा चलाउन नमिलेपछि लागि प्रहरीसँग भनाभन भएको कागजी सही छाप गर्न लगाएको भट्टराई बताउँछन् । ‘सबैको आथा विभिन्न पार्टीमा हुन्छ’ उनले भने ‘मेरो आस्था त्यो पार्टी तर्फ भएपनि म अहिले पत्रकारीतामा पूर्णरुपमा सक्रिय छु । आस्था राख्दैमा पक्राउ गर्ने ?’
‘केन्द्र देखि त्यहि आदेश छ’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बीरेन्द्र थापाले भने ‘विप्लब माओवादीको कार्याकर्ता भन्ने जानकारीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धनन गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्