चाँगुनारायणमा पुन – मतगणना सुरु



पुष्कर बुढाथोकी, भक्तपुर ।
गत शुक्रबारदेखि रोकिएको चाँगुनारायण नगरपालिकाको मत गणना बुधबारबाट सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयमा भक्तपुरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको नेतृत्वमा भएको सर्वदलिय बैठकमा दलहरु चाँगुनारायण नगरपालिका वडा नं. ३ र ४ बाट पुन मत गणना गर्ने र यसअघि मतगणनामा रहेका कर्मचारीलाई नराखी अरु कर्मचारी राख्ने सहमित भएपछि साँझबाट पुन ः मतगणना सुरु भएको हो ।
सर्वदलिय बैठकमा दलहरु बिच मतगणना भईसकेको चाँगुनारायण नगरपालिका वडा नं. ३ र ४ मा पुन ः मतगणना गर्ने र निरन्तर रुपमा मतगणना कार्य अगाडि बढाउने सहमति भएको हो । यसअघि मतगणनामा बसेका कर्मचारीहरु कोही पनि नराख्ने र नयाँ कर्मचारी राखेर मत गणना गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो । बैठक पछि प्रतिक्रिया दिदै प्रजिअ पोखरेलले एउटै कोठामा एक पटकमा एक वडाको दुई ठाउँमा मात्रै मत गणना हुने बताउनुभयो ।
मतगणनाको क्रममा गत शुक्रबार बिहान मतगणनामा बसेका कर्मचारीले पारदर्शी रुपमा मतगणना नगरेको र एमालेका उम्मेदवारको नाममा मत बढाईदिएको भन्दै दलहरु बिच विवाद भएपछि मतगणना स्थगित भएको थियो । दलहरु बिच पटक पटक भएको वार्ता र छलफल सहमतिमा नपुगेपछि निर्वाचन आयोगलाई समस्याको समाधान गर्न पत्राचार गरेपनि आयोगले सहमतिमा निर्णय लिने जवाफ पठाएपनि सहमति हुन सकेको थिएन ।
शुक्रबार विवाद भएपछि एमाले बाहेकका दलहरुले ३ र ४ वडाको मत गणना पुन ः गर्नुपर्ने माग राखेको र एमालेले भने पुन ः मतगणना गर्ने भए १ देखि नै गर्नुपर्ने अडान राख्दै आएको थियो ।मतमणना रोकिएपछि नेपाली काँग्रेसले आज बिज्ञप्ती जारी गर्दै मत गणना सुरु गर्न माग गरेको थियो भने दलका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा बैठक बसिरहदाँ मतगणना छिटो गर्न माग गर्दैए नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्