७ सय ३३ को सपथ पछि शुरु भयो काम



मोतीराम तिमल्सिना, काभ्रे ।
काभ्रेपलाञ्चोक जिल्लामा रहेका १३ वटा स्थानीय तहमा निर्वाचित ७ सय ३३ जनप्रतिनिधिलाई सपथ खुवाईएको छ । हिजो बुधबारसम्म सबै तहका सवै निर्वाचित पदाधिकारीहरुले निर्वाचन अधिकारीहरुसँग सपथ खाएका हुन् ।
सपथ कार्यक्रम सम्पन्न भए लगत्तै निर्वाचन कार्यालयहरुले कार्यपालिकाको निर्वाचन कार्यक्रम शुरु गरेका छन् । कार्यपालिकाको निर्वाचन पछि जिल्ला समन्वय समितिको निर्वाचन हुनेछ । जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदा एमालेले पहिलो शक्तिको रुपमा आफूलाई उभ्याएको छ । १३ स्थानीय तहमध्ये एमालेले ५ नगरपालिका र २ गाउँपालिका जित्दै पहिलो बनेको हो । त्यसै गरी नेपाली कांग्रेस १ नगरपालिका र ३ गाउँपालिकामा विजयी हासिल गर्दै दोस्रो भएको छ । त्यसैगरी माओवादी केन्द्रले २ गाउँपालिकामा विजयी हासिल गरेको छ ।

जिल्लामा रहेका १३ वटा स्थानीय तहमा रहेका १ सय ८९ वटा मतदान स्थलबाट ३ सय ७ मतदान केन्द्रहरु मध्ये वैशाख ३१ गते ३ सय ५ वटामा मतदान सम्पन्न भएको र नमोबुद्ध नगरपालिका र धुलिखेल नगरपालिकाका २ वटा केन्द्रमा जेठ ३ गते निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचनको मत परिणाम अनुसार बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध र मण्डन देउपुर नगरपालिका सहित भुम्लु र खानीखोला गाउँपालिकामा एमाले विजयी बन्यो । त्यसैगरी पाँचखाल नगरपालिका र रोशी, बेथानचोक, तेमाल गाउँपालिकामा नेपाली कांग्रेस विजयी बने । माओवादी केन्द्रले चौरी र महाभारत गाउँपालिका जित्न सफल भएको थियो । अब हुने कार्यपालिका र गाउँपालिकाको निर्वाचनमा पनि अधिकांश पदमा नेकपा एमालेका उम्मेदवारले विजयी हासिल गर्नेछन् । जिल्ला समन्वय समिति पनि एमालेको पकडमा एकलौटी हुने भएको छ ।
१३ वटै स्थानीय तहमा जनप्रतिनिधिहरुले काम शुरु गरिसकेका छन् । सपथ लगत्तै स्थानीय तहका निर्वाचन कार्यालयहरुले कार्यपालिकाको निर्वाचनका लागि कार्यक्रम सार्वजनिक गरेका छन् । स्थानीय तहको निर्वाचन सम्वन्धी ब्यवस्थामा स्थानीय तहका सबै पदमा जनप्रतिनिधि निर्वाचित भईसकेपछि महिला सदस्यहरु मध्येबाट ५ जना नगरपालिकामा र ४ जना गाउँपालिकाकमा कार्यकारिणी सदस्य निर्वाचित हुनेछन् भने निर्वाचित भएका भन्दा बाहिरबाट दलित र अल्पसंख्यहरुबाट नगरपालिकामा ३ र गाउँपालिकामा २ जना कार्यकारिणी सदस्य निर्वाचित हुनेछन् ।

उम्मेदवारहरुलाई निर्वाचित जनप्रतिनिधिले मात्रै मतदान गर्न पाउनेछन् । तब मात्रै गाउँपालिका र नगरपालिका पूर्ण हुनेछन् । कार्यकारिणी समितिमा प्रमुख र उप्रमुख, वडा अध्यक्षहरु र निर्वाचित ५ महिला सदस्यहरु, दलित र अल्पसंख्यकहरु रहनेछन् । पछि निर्वाचित भएका सबै जनप्रतिनिधिहरुको मर्यादाक्रम वडा अध्यक्षको हैसियतमा हुनेछ ।
कार्यपालिकाको निर्वाचन सकिए लगत्तै जिल्ला समन्वय समितिको निर्वाचन हुनेछ । जिल्ला समन्वय समितिमा १३ तहका प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन् । १३ तहमा निर्वाचित ७ सय ३३ जनप्रतिनिधी उम्मेदवार बन्न पाउनेछन् । १३ मध्ये ७ वटा नेकपा एमालेले विजयी हासिल गरेकाले जिल्ला समन्वय समितिका ९ वटै पदमा एमालेका उम्मेदवारहरु विजयी हुने निश्चित छ ।

जिल्ला समन्वय समितिको प्रमुखमा लामो समय राजनीतिमा सक्रिय जिफन्टका नेता उद्धव केसीको सम्भावना बढेको छ । टिकाबल्धव सापकोटा पनि समन्वय समितिको संयोजक पदको आकांक्षी हुन् । एमालेले विभिन्न भेग र बस्तिबाट समन्वय समितिका ब्यक्तिहरु छनौट गर्नेछ । उक्त समितिमा स्थानीय तह जस्तै प्रमुख र उपप्रमुख मध्ये एकमा महिला, ३ जना महिला सदस्य अनिवार्य, १ दलित सदस्य अनिवार्य हुनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्