रोल्पामा उत्पादित अल्लो अमेरिकासम्म



रोल्पा, १० जेठ । रोल्पाका अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका तथा अस्ट्रेलियाको बजारसम्म पुग्ने गरेको छ । नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग इरिवाङ, रोल्पाले अल्लोबाट उत्पादन गरेको जुत्ता, कोट तथा पर्स अमेरिका र अस्ट्रेलिया पुग्ने गरेको उद्योगका अध्यक्ष लक्ष्मी डाँगीले बताउनुभयो ।

उद्योगबाट झोला, सल, पटुकालगायत स्थानीय बजारमा खपत हुने सामग्रीका साथै जुत्ता, पर्स तथा कोटजस्ता बाह्य बजारमा खपत हुने सामग्री उत्पादन हुने गरेको डाँगीले बताउनुभयो । काँचो कपडादेखि वस्तु निर्माणसम्म गर्ने सो उद्योगले वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्ने गरेको डाँगीले बताउनुभयो ।

प्रशोधित धागो काठमाडाँै, सङ्खुवासभालगायत देशका विभिन्न जिल्लामा जाने गरेको उद्योगले बताएको छ । उत्पादन गुणस्तरीय भएका कारण माग बढेकाले मागअनुसार सामान पु¥याउन नसकिएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा समन्वय गर्ने काम राष्ट्रिय लघुउद्यमी महासङ्घले गरिरहेको तथा विभिन्न निकायसँग समन्वय गरी देशका विभिन्न भागमा बजार खोज्ने गरेको डाँगीले बताउनुभयो । देशका विभिन्न जिल्लामा सञ्चालन हुने महोत्सवमा समेत आफ्नो उत्पादन बिक्री हुने गरेको डाँगीले जानकारी दिनुभयो । सुरुमा जिविस रोल्पाले प्रविधि सहयोग र दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्नाका साथै मेडेपले समेत सहयोग गरेको उद्योगले बताएको छ ।

जिल्लाबाट उत्पादित वस्तु बिक्री वितरण गर्ने भन्दै सदरकुकाम लिवाङमा कोसेली घरसमेत सञ्चालनमा आएका छन् । जिल्लामा उत्पादन हुने सिमी, भांगो, टिमुर, भटमास, मह, घीउ तथा अल्लो र भांगोबाट उत्पादित विभिन्न काँचो तथा तयारी सामान विक्री वितरण हुँदै आएको सौगात कोसेली घरकी सञ्चालक पवन वलीले जानकारी दिनुभयो ।

जिल्ला भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकले आफ्नो पसलबाट, अल्लोबाट निर्मित कोट, पर्स, ब्यागका साथै घीउ, मह, सिमी, भांगो, टिमुरजस्ता सामान बिक्री गरी दैनिक ८ हजारभन्दा बढी आम्दानी हुँदै आएको वलीले बताउनुभयो । बजार माग बढिरहेको तथा सामान आपूर्ति कम रहेका कारण ग्राहकको आकर्षणअनुसार सामान पु¥याउन धौ धौ परेको सदरमुकाममा नै अर्को कोसेली घर सञ्चालन गर्नुभएकी हिरा घलेले बताउनुभयो ।

शान्ति प्रक्रियापछि रोल्पा घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाको सङ्ख्या वृद्धि भइरहेकाले रोल्पाको चिनोस्वरुप यहाँको उत्पादन लानेक्रम पनि बढिरहेको उहाँले बताउनुभयो । जिल्लामा दर्जनभन्दा बढी अल्लो धागो उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका कार्यालय प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो । अल्लोप्रति धेरैको आकर्षण रहे पनि व्यावसायिक उत्पादन भने हुन नसकेको आचार्यले बताउनुभयो ।

जिल्लामा सेरम, लिवाङ, ह्वामा, धवाड, घर्तीगाउँ, जेल्वाडलगायत स्थानमा अल्लो उद्योग रहेको आचार्यले बताउनुभयो । हरेक उद्यमीले कम्तीमा मासिक रु १४ हजारसम्म आम्दानी गरिरहेको आचार्यले बताउनुभयो ।

उद्यमीका लागि तालिम, मेसिन, प्रविधि सहयोग तथा न्यून ब्याजमा ऋणको व्यवस्था गरिएको आचार्यले बताउनुभयो । गाउँमै उत्पादित अल्लोबाट सामग्री उत्पादन भएकाले उद्योग दिगोरुपमा सञ्चालन हुनेमा आफू आशावादी रहेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्