कालीकोटको नरहरिनाथमा एमालेका विष्ट विजयी



कालीकोट, १० जेठ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षका उम्मेदवार नेकपा (एमाले)का धिरबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँले दुई हजार ४६० मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मीनबहादुर बोगटीले दुई हजार २३८ मत ल्याउनुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मनशोभा बुढा विजयी हुनुभएको छ । उहाँले दुइ हजार २४९ मत ल्याई विजयी हुुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुनिता बुढाले दुई हजार ३८ मत ल्याउनुभएको बताइएको छ । नरहरिनाथ गाउँपालिकामा चारवटा वडामा नेकपा (एमाले), तीनवटा वडामा नेकपा (माओवादी केन्द्र) र दुईवटा वडामा नेपाली काँग्रेसले जित हासिल गरेको निर्वाचन अधिकृत प्रदीपराज अधिकारीले बताउनुभएको छ ।

कालीकोट जिल्लामा दुई नगरपालिका (तिलागुफा र रास्कोट) सहित तीन गाउँपालिका (पचालझरना, सान्नित्रिवेणी र पलांता)मा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ भने खांडाचक्र नगरपालिकामा नेकपा (एमाले)ले जित हासिल गरेको छ ।

महावै गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (एमाले)ले विजय हात पारेको छ भने नरहरिनाथ गाउँपालिकामा अध्यक्ष नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि सेरापाटा मतदान केन्द्रमा पुनः भएको मतदानपछि नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्