गोल्डेनपिक र एचएचसीएलाई उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
गोल्डेनपिक र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले दोस्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्। गोल्डेनपिक जुनियर ब्वाइज तथा एचएचसीए सिनियर गल्र्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने।

वसुन्धारा नेसनल एकेडेमी (बीएनए) द्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले भ्याली पब्लिकलाई ३६–२५ ले पराजित गर्यो। गोल्डेनपिकको जितमा पेम्बा छिरिङ शेर्पाले १२ अंक योगदान गरे।
जुनियर ब्वाइजमै डिफेन्डिङ च्याम्पियन ओडिसी इन्टरनेसनल एकेडेमीले तेस्रो स्थानमा चित्त बुझायो। ओडिसीले लालीगुराँस नेसनल एकेडेमीलाई ३६–२० ले हरायो। ओडिसीका अक्सर गुरुङले १२ अंक जोडे।

सिनियर गल्र्सको उपाधि भिडन्तमा एचएचसीएले ईडेन ब्रिज एकेडेमी (ईबीए) लाई ९–८ ले पाखा लगायो। एचएचसीएकी सन्जु राईले ६ स्कोर गरिन्। ग्रिनल्यान्डले स्किब्सलाई १०–८ ले हराउँदै तेस्रो भयो। ग्रिनल्यान्डकी प्रियंका खनालले ६ अंक बटुलिन्।

ब्वाइजमा गोल्डेनपिकका पेम्बा ग्याल्जेन शेर्पा र गल्र्समा एचएचसीएकी सन्जु राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। ब्वाइजमा निब्स र गल्र्समा लोयल्टी एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे। ब्वाइजमा दीपज्योति र गल्र्समा मनासलु ‘इमर्जिङ’ टिम चुनिए।

प्रतिक्रिया दिनुहोस्