भलिबलले बाजी मार्यो



नेपाल समाचारपत्र
काठमाडौं
नेपालको राष्ट्रिय खेल कुन हो भनेर तीन वर्षअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको पालामा ठूलै बहस चलेको थियो। हरेक खेलका संघका अध्यक्षले आफ्नै खेल राष्ट्रिय मान्यता दिनुपर्ने तर्क राखेका थिए। यसपछि पनि पटक पटक बहस भइरहँदा पनि राष्ट्रिय खेल यही हो भनेर किटान गर्न सकेको थिएन। युवा तथा खेलकुद मन्त्रालयले पनि कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने विषयमा सुझाव संकलन गरेको थियो।

सोमबार भने यस ठूलो बहसको पर्दा खुलेको थियो। मन्त्रिपरिषद्को बैठकले नेपालको राष्ट्रिय खेल भलिबल भएको घोषणा गरेर बहस टुंग्यायो। पूर्वदेखि पश्चिमसम्म नेपालको जहाँ तहाँ खेल्न सकिने भलिबलले राष्ट्रिय खेलको रूपमा मान्यता पाएको छ।

यसअघि नेपालको राष्ट्रिय खेल डन्डीबियोलाई लिइँदै आएको थियो। त्यस्तै कबड्डीलाई पनि नेपालको राष्ट्रिय खेलको मान्यता दिनेहरू पनि थिए। नेपालको भौगोलिक संरचनाले पनि दिएको र अन्य खेलको तुलनामा लगानी पनि धेरै नगाल्ने साथै नेपालमा अत्यधिक लोकप्रिय खेलको विशेषता पाएको आधारमा भलिबललाई नै राष्ट्रिय खेल बनाउनुपर्ने नेपाल भलिबल संघको तर्क थियो।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबललाई राष्ट्रिय खेलको दर्जा दिएकोमा आपूm गर्वित भएको बताए। शर्माले नेपाल समाचारपत्रलाई बताए– ‘बल्ल लामो संघर्षको सुखद नतिजा आएको छ। नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको दर्जा दिएकामा भलिबलका सम्पूर्ण पदाधिकारी, समर्थक र खेलाडीको मेहनत साकार भएको छ।’

केही महिनाअगाडि मात्रै नेपालको भलिबल राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय पदक जित्न सफल भएको थियो। यो अन्तर्राष्ट्रिय प्रतियोगितामा चार दशकपछिको पहिलो पदकसमेत थियो। अब यसलाई बलियो बनाउनुपर्ने संघका अध्यक्ष शर्माको भनाइ छ। उनले भने– ‘राष्ट्रिय खेल बनेपछि भलिबलका लागि कम्तीमा ५ देखि १० हजार अट्ने एउटा कभर्ड हल बनाउन आवश्यक भएको छ। जिम्मेवारी थप भएको छ। अहिलेसम्म भलिबल प्रतियोगिता गर्दै आएका छौं। तर पनि दर्शकको चाप बढ्दै गएको पनि छ। यसका लागि संघले नेपाल सरकारसँग जग्गा भए पनि उपलब्ध गराउन माँग गरिरहेका छौं।’

उनले थपे– ‘सरकारले नबनाए पनि जग्गा मात्रै उपलब्ध गराइदिएमा हामी नै कभर्ड हल बनाउनेछौं।’
त्यस्तै संघका महासचिव जितेन्द्रबहादुर चन्दले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्न लामो समयदेखि पहल गर्दै आएको जनाउँदै सबैको प्रयासबाट राष्ट्रले औपचारिक रूपमा राष्ट्रिय खेल पाएको बताए।

न्यु डायमन्डमा दीपावली
भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा पुरानो नैकापस्थित न्यु डायमन्ड एकेडेमीले दीपावली गरेको छ। विद्यालय प्रांगणमा गरिएको दीपावली कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, कोषाध्यक्ष सुनकेशरी माली, भलिबल प्रशिक्षक कुमार राई र न्यु डायमन्ड एकेडेमीका खेलाडीको उपस्थिति रहेको थियो।

न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल तथा भलिबल प्रशिक्षक कुमार राईले लामो समयदेखि भलिबलमा संलग्न रहँदै आएको अवस्थामा भलिबललाई सरकारले राष्ट्रिय खेल घोषणा गरेर सम्पूर्ण भलिबलप्रेमीलाई खुसी तुल्याएको बताए।

प्रतिक्रिया दिनुहोस्