लक्ष्यभन्दा २० प्रतिशत बढी राजस्व संकलन



नेपाल समाचारपत्र
काठमाडौं
आर्थिक वर्ष २०७३⁄७४ वैशाख मसान्तसम्म राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा राजस्व संकलनको लक्ष्य १ खर्ब ७९ अर्ब २८ करोड ४७ लाख ८७ हजार रुपियाँ रहेकोमा १ खर्ब ८८ अर्ब ८५ करोड ७६ लाख ८४ हजार रुपियाँ संकलन भई लक्ष्यको तुलनामा १०५ प्रतिशते प्रगति भएको छ। गत वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भएको हो।

शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ १ खर्ब १ अर्ब ८१ करोड ७० लाख ३६ हजार, मूल्य अभिवृद्धि कर ४८ अर्ब ३२ करोड २४ लाख ११ हजार र अन्तःशुल्कतर्फ ३७ अर्ब २८ करोड ५७ लाख १६ हजार रुपियाँ संकलन भएको छ। सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ आयकर, बहालकर, ब्याजकर गरी १०७ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ १०१ प्रतिशत र अन्तःशुल्कतर्फ १०८ प्रतिशत हो।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ६४ करोड २८ लाख ४० हजार र ७८ करोड ९६ लाख ८१ हजार संकलन भएको छ। शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ९९ प्रतिशत र स्वास्थ्य सेवा करतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत संकलन भएको छ। गत वर्षको तुलनामा आयकर वृद्धिदर १५ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २५ प्रतिशत, अन्तःशुल्कको वृद्धिदर ३२ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २४ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३२ प्रतिशत रहेको छ। २०७४ वैशाखसम्मको अवस्था हेर्दा यस विभागले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। चालू आर्थिक वर्षको वार्षिक लक्ष्य २ खर्ब ३३ अर्ब ६० करोड १५ लाख १७ हजार समेत पूरा हुने गरी कार्य सम्पादन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्