निराशाजनक चलखेल



दोस्रो चरणको निर्वाचन आउन अब केही साता मात्रै बाँकी छ । मुलुकका प्रमुख दल र सरकारका हिजो मंगलबारका क्रियाकलाप हेर्दा भने त्यसले जनतालाई निराश बनाउने काम गरेको छ । बजेटका विषयमा हिजो संसद्मा छलफल गर्ने भनिएकोमा दलहरूका नेताहरूको खिचातानीले दिनभरि संसद् नै बस्न सकेन र आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ । पटक–पटक समय तोक्दै हिजोको बैठक अवरुद्ध पार्ने काम गरियो ।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिने तयारी गरेको कुरा बिहानैदेखि चर्चामा रहेको थियो । मन्त्रिपरिषद्को बैठकमा फोटोसेसनसमेत गराइएको थियो । हिजो दिनभरि प्रमुख विपक्षी नेता केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डको सक्रियता आफैंमा अनौठो रहेको थियो । तर, केका लागि सक्रियता हो भन्ने कुरा बुझ्न निकै अप्ठेरो अवस्था उत्पन्न भएको थियो ।

पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा प्रचण्डको छवी यसबीचमा उजेलिएको प्रस्टै छ । त्यसबाहेक नेपाली कांग्रेस र माओवादी पार्टीबीचको सहमतिअनुसार राजीनामा दिएको अवस्थामा उनी वचनमा पनि पक्का नेता हुन् भन्ने एक खालको राम्रो छवी बाहिर जाने निश्चित रहेको थियो र छ । सायद हिजो भएका गतिविधि उहाँको त्यो छवीलाई धमिल्याउने प्रयासअन्तर्गत पनि हो कि भन्ने प्रश्नसमेत उब्जिएको छ । तर, हिजो दिनभरि जे हर्कत भए ती गलत थिए । मुलुक अहिले एकदमै संगीन घडीमा रहेको छ र सेकेण्ड–सेकेण्डको महत्त्व रहेको छ । यस्तो अवस्थामा समयको दुरुपयोग गर्ने काम राजनीतिक नेतृत्वको वृत्तबाट नगरियोस् । प्रधानमन्त्रीले पनि राजीनामा दिनका लागि संसद् नै कुर्नुपर्ने अवस्था पनि होइन । उहाँले चाहेको भए देशबासीका नाममा सम्बोधन गरेर त्यसपछि राष्ट्रपतिलाई राजीनामा दिन जाने अवस्था पनि विद्यमान रहेको थियो ।

तर, हिजो जे–जस्ता हर्कत भए त्यसले दलहरूको बानी व्यहोरा अझै सुध्रेको रहेनछ कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखे पनि नसुध्रने रहेछ भन्ने कुरा चरितार्थ गरेको छ। अहिलेको अवस्थामा संयुक्त सरकार नै बन्नुपर्ने गणितीय बाध्यता रहेको छ । त्यो गणितीय हिसाबमा कांग्रेस र माओवादी केन्द्र वा एमाले र माओवादी केन्द्र जोसुकै पनि हुन सक्छन् ।

त्यसैले यसो गर र उसो गर भनेर अहिले एक–आपसमा हिलो छ्यापाछ्याप गर्नु कुनै पनि हिसाबले औचित्यपूर्ण मान्न सकिँदैन । त्यसैले सरकार फेर वा नफेर तर दोस्रो चरणको निर्वाचन निर्धारित समयमा हुनै पर्दछ । हिजो दिनभरि भएजस्तै चलखेलले चुनावको वातावरण बिथोल्न भने कदापि पाइँदैन । बिथोल्ने अवस्था आयो भने जनस्तरबाट नै हस्तक्षेप हुने अवस्थासम्म आउन सक्छ । यो कुरालाई सबैले बुझून् ।

प्रतिक्रिया दिनुहोस्