डोटीमा विप्लव माओवादीको गतिविधि तीव्र



विमल विष्ट, डोटी
जेठ ३१ गते हुने भनिएको स्थानीय निकाएको निर्वाचन नजिकिएसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा माओवादीले डोटी जिल्लामा आफ्ना गतिविधिलाई तीब्रता दिएको छ।

जिल्लाका विभिन्न स्थानमा ‘विप्लव’ माआवादीका कार्यकर्ताले आफ्ना सांस्कृतिक कार्यक्रम, आमसभा, कोणसभाजस्ता कार्यक्रम गर्न थालेको स्थानीयबासीहरूले बताएका छन्।

स्थानीयबासीका अनुसार ‘विप्लव’ माओवादीका कार्यकर्ताहरूले सरकारले घोषणा गरेको स्थानीय निकाएको निर्वाचन जनतालाई धोका दिने तथा जनताको हित विपरीत भएकाले त्यसमा सरिक नहुन स्थानीयलाई आग्रह गरिरहेका छन्। उनीहरूका कार्यकर्ताले जिल्लाका ग्रामीण क्षेत्रका गाउँपालिकामा पर्चा पम्प्लेट टास्ने सरकारले घोषणा गरेको निर्वाचनमा भाग नलिन भन्दै स्थानीयसंग भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरिरहेको बताइएको छ। उता ‘विप्लव’ माओवादी श्रोतले दिएको जानकारीअनुसार सरकारले गर्ने चुनाव विफल पार्नका लागि उनीहरूले ७ नम्बर प्रदेश बाहिरबाट आफ्ना कार्यकर्ताहरू ल्याउने तयारी गरिरहेको छ।

केही दिनपहिले मात्रै ‘विप्लव’ माओवादीका कार्यकर्ताले अछाम जिल्लामा आफ्नो बृहत जनसांस्कृतिक कार्यक्रमसमेत सम्पन्न गरेको छ। विप्लव माओवादीले ७ नम्बर प्रदेशमा चुनाव बिथोल्न आफ्ना कार्यकर्ता परिचालन गरेको खण्डमा यहाँको कैलाली तथा कञ्चनपुरका केही चुवानी क्षेत्रमा चुनाव सम्पन्न गर्न केही असहज वातावरण हुने कतिपय विश्लेषकहरूको बुझाइ रहेको छ। ‘विप्लव’ माओवादीका कार्यकर्ताले जिल्लामा आफ्ना गतिविधि बढाउन थालेपछि यहाँको स्थानीय प्रशासनले पनि उनीहरूका कार्यक्रम तथा गतिविधिमा निगरानी बढाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्