प्रतिनिधिद्वारा जनहितमा समर्पित हुने प्रतिबद्धता



नेपाल समाचारपत्र
लमजुङ
लमजुङमा ८वटै स्थानीय तहका निर्वाचित पदाधिकारीहरू जनहितमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै उनीहरूले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। लमजुङमा रहेका ८ स्थानीय तहमा ४ नगरपालिका र ४ गाउँपालिका छन्। तीमध्ये बेंसीशहर, सुन्दरबजार, मध्यनेपाल र रागिनास ४ नगरपालिका हुन्। यसै गरी, गाउँपालिकाहरूमा दूधपोखरी, दोर्दी, मस्र्याङ्दी र क्वहोलासोथर गाउँपालिका हुन्। ती सबै तहका नवनिर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गरेका हुन्।

जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित समारोहमा बेंसीशहर नगरपालिकाका निर्वाचित प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारी र ११ वटै वडाका वडाध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले शपथ ग्रहण गराउनुभएको हो। ती वडाका वडा सदस्यहरूलाई उक्त नगरपालिकाका प्रमुख अर्यालले सपथ खुवाउनुभयो। सपथपछि नवनिर्वाचित प्रमुख अर्यालले बेंसीशहरलाई मौलिक शहरका रुपमा विकास गर्ने बताउनुभयो।

यसै गरी, जिल्लाको दोस्रो ठूलो सुन्दरबजार नगरपालिकामा निर्वाचित प्रमुख जनकराज मिश्र, उपप्रमुख ज्ञानु शाह तथा ११ वडाका वडाध्यक्षहरूलाई निर्वाचन अधिकृतको कार्यालय सुन्दरबजारका प्रमुख भोलानाथ गुरागाईंले शपथ खुवाउनु भएको थियो। त्यसलगत्तै ११ वटै वडाका अन्य पदाधिकारीहरूलाई नगरका मेयर जनकराज मिश्रले सपथ खुवाउनुभयो।

सुन्दरबजार नगरपालिकाका प्रमुख मिश्रले निष्पक्ष ढंगले नगरको समग्र पक्षको विकासमा सबैसँग हातेमालो गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाहरूलाई नगरभित्रै रोजगारीको अवसर दिलाउने खालका कार्यक्रमहरू ल्याउने बताउनुभयो। उहाँले नगरमा रहेका श्रोत, सम्पदाको संरक्षण, सम्बद्र्धन र परिचालन गरी सुन्दरबजारलाई साँच्चै सुन्दर बनाउन आफ्नो टोलीले काम गर्ने बताउनु भयो। नगरपालिकाका उपप्रमुख ज्ञानु शाहले महिलाहरूको सशक्तिकरणका क्षेत्रमा काम गर्ने बताइन्। नगरभित्र महिला हिंसा अन्त्यका लागि पहल कदमी चाल्ने उहाँको प्रतिबद्धता छ।

त्यस्तै, मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे, उपप्रमुख राजकुमार श्रेष्ठ र वडाध्यक्षहरूलाई सोही नगरपालिकाका निर्वाचन अधिकृत होतराज लम्सालले सपथ खुवाउनुभयो। नवनिर्वाचित वडा सदस्यहरूलाई नगरका प्रमुख पाण्डेले शपथ गराउनुभयो। प्रमुख पाण्डेले भ्रष्टाचारमुक्त समाज निर्माणमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगरका श्रोतसाधनलाई उपयोग गरी सबैलाई रोजगारीको अवसर दिलाउन अग्रसर हुने उहाँले बताउनुभयो।

त्यस्तै, रागिनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, उपमेयर धनकुमारी गुरुङ तथा १० वटै वडाका वडाध्यक्षहरूलाई सोही नगरपालिकाकी निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले शपथ खुवाउनुभयो। वडा सदस्यहरूलाई नगरका प्रमुख थापाले सपथ खुवाउनुभयो। सपथ ग्रहणपछि प्रमुख थापाले नगरको विकासमा सबैसँग हातेमालो गरी अघि बढ्ने बताउनुभयो। यसै गरी, दूधपोखरी गाउँपालिकाका प्रमुख छुपिमाया गुरुङसहितका अन्य पदाधिकारीहरू, मस्र्याङ्दी गाउँपालिकाका अर्जुन गुरुङ, उपप्रमुख होमबहादुर विकसहितका नवनिर्वाचित टोलीले पनि सपथ खाएको जानकारीमा आएको छ।

प्रतिक्रिया दिनुहोस्