एमालेले रोक्यो प्रधानमन्त्रीको राजीनामा



मन्त्रिपरिषद्को मंगलबारको बैठकपछि अन्तिम फोटो सेसन गर्दै मन्त्रिपरिषद्का सदस्यहरू । तस्वीर सौजन्यः प्रमको कार्यालय

बीपी साह, काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिनबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै रोकेको छ। मंगलबार संसद्मा सम्बोधन गरेर राजीनामा दिन लागेका प्रधानमन्त्रीलाई एमालेले रोकेको हो। एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन नै गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कडा आलोचना गर्नुभएको थियो। एमालेले दोस्रो चरणको निर्वाचनसम्म प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्ने तर्क गरेको छ। विगतमा माओवादी र एमालेबीचको गठबन्धन ओलीले प्रम पदबाट राजीनामा दिन नमानेपछि टुटेको थियो। त्यसपछि दुई दलबीच तिक्तता बढे पनि हिजोबाट भने एमाले एकाएक माओवादी र त्यस पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको पक्षमा देखिएको छ।

‘सदनलाई सम्बोधन गरेर प्रधानमन्त्रीले राजीनामा दिने विचार गर्नुभएको थियो। प्रधानमन्त्रीले राजीनामा दिने भएपछि एमालेले सदन चल्न नदिने अडान राख्यो’, कानुनमन्त्री अजय शंकर नायकले भन्नुभयो– ‘एमालेकै कारण प्रधानमन्त्रीको राजीनामा रोकियो।’ एमालेकै सहमतिमा स्थानीय निकायको संख्या थपिएको बताउँदै मन्त्री नायकले अहिले स्थानीय निकायको विवाद झिकेर प्रधानमन्त्रीलाई रोक्ने प्रयास एमालेले गरेको बताउनुभयो।

नेपाली कांग्र्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले एमालेले स्थानीय निकायको संख्या थपिएको वहानामा निर्वाचन प्रभावित गर्न खोजेको आरोप लगाउनुभयो। उहाँले एमालेको भित्री मनसाय अर्कै रहेको प्रतिक्रिया दिनुभयो।

प्रमुख प्रतिपक्षी दल भए पनि एमाले सरकार गठनको दौडमा मुकदर्शक मात्र हुने भएपछि उसले माओवादी केन्द्रसहित अन्य दलसँग मिलेर सरकार बनाउने प्रयास गरेको छ। माओवादी र एमालेबीच भएको छलफलमा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेको स्रोतले बतायो।

मंगलबार बिहानैदेखि नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रमुख तीन पार्टीबीच छलफल भएको थियो। अन्तिममा तिनै पार्टीका शीर्ष नेताहरूको बैठक बसे पनि सहमति हुन सकेन। एमालेले अन्तिमसम्म संसद् अवरुद्ध गर्ने चेतावनी दिएको थियो। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे, ३ बजे, ५ बजे हुँदै ७ बजेका लागि सरेको थियो। अन्तिममा साँझ सूचना टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज ११ बजे प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने तय भएको छ। बुधबार बिहानसम्ममा सहमति बन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले बुधबारको संसद्लाई सम्बोधन गरी राजिनामा दिन सक्ने बताउनुभयो।

मंगलबार बालुवाटारमा मन्त्रिपरिषद्को बैठक गरी प्रधानमन्त्रीले अन्तिम बैठक हुन सक्ने भन्दै मन्त्रीहरूसँग फोटो सेसनसमेत गराउनुभएको थियो। फोटो ससन पछि प्रधानमन्त्री राजीनामा दिन संसद्मा जानुभएकोमा प्रमुख विपक्षीका कारण उहाँले राजीनामा दिन पाउनुभएन।
‘लोकलाजको ख्याल गर्नुस्’
काठमाडौं, (नेस)
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धनका दललाई आग्रह गर्नुभएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ओलीले निर्वाचन गराउने, नीति कार्यक्रम र बजेट ल्याउने कामहरू छाडेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लाई सरकार लिन र छाड्नका लागि देखिएको हतारोले निर्वाचन प्रभावित हुन सक्ने बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो– ‘मैले दुवै दलका प्रमुखलाई कम्तीमा २०⁄२२ दिन त पर्खनुस्, लोकलाजको पनि ख्याल गर्नुस् भनेको छु। यो हाम्रो मामिला हो भन्दैहुनुहुन्थ्यो, तर यो अस्थिरता निम्त्याउने कुरा पनि हो।’

निर्वाचनको मिति तय भइसकेपछि सरकारले संविधान र सहमति विपरीत स्थानीय तहको संख्या थपेकोमा आपत्ति जनाउँदै उहाँले त्यस्तो निर्णय फिर्ता गर्न सरकारसँग माग गर्नुभयो। उहाँले संविधान संशोधन विधेयक पनि फिर्ता लिनुपर्ने माग गर्दै पहिलो चरणको स्थानीय निर्वाचनमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्