बेलायतमा आत्मघाती हमला बाइसको मृत्यु



म्यानचेस्टर, (एजेन्सी)
बेलायतको म्यान्चेस्टर रंगशालामा आयोजित अमेरिकी गायिका एरियना ग्रान्डको कन्सर्टको अन्त्यमा सोमबार भएको आत्मघाती बम विस्फोटनमा एक आठ वर्षीया बालिकालगायत २२ जना व्यक्तिको ज्यान जानुका साथै अन्य ५९ जना घाइते भएका छन्।

स्थानीय समयअनुसार सोमबार राति १० बजेर ३३ मिनेट जाँदा एक जना पुरुषले घरमै बनाइएको बम पड्काएका थिए। बेलायती प्रधानमन्त्री थेरेसा मेले यस घटनालाई घृणित कार्यको संज्ञा दिनुभएको छ। मारिने आठ वर्षीया साफी रोज रोस्सोस नामक बालिका ल्यान्कासायरस्थित टोर्लेटन प्राइमरी स्कुलकी विद्यार्थी रहेको बताइएको छ।

विद्यालयका प्रधानाध्यापक क्रिश युप्टनले उनी निकै सुन्दर र सबैले मन पराउने बालिका भएको जानकारी दिएका छन्। सो बम काण्डमा मारिनेको सूचीमा १८ वर्षीया छात्रा जर्जिन क्याल्लान्डर पनि रहेकी छिन्। उनी ल्यान्कासायको लेल्यान्डस्थित रनस कलेजमा हेल्थ र सोसियल केयर विषय लिएर अध्ययन गरिहेको बताइएको छ।

नेपालद्वारा निन्दा

यसैबीच नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा सोमबार राति भएको आतंककारी हमलामा परी १९ जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई मंगलबार पत्र लेखी उक्त हमलामा परी १९ जनाको ज्यान गएको समाचारले आफू र नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको छ। उहाँले यस दुःखद घडीमा आफू, नेपाल सरकार र नेपाली जनताका तर्फबाट बेलायती सरकार र जनताप्रति समवेदना प्रकट गर्नुभएको छ।

मन्त्री डा. महतले सो घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ। उहाँले घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ। घटनामा परी कयौं व्यक्ति घाइते भएका छन्।

मन्त्री डा. महतले सो घटनाको निन्दा गर्दै यस्तो अमानवीय कार्यमा संलग्नलाई जति सक्दो चाँडो कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिनुभएको छ।

उहाँले नेपाल सधैँ सबैखाले आतङ्ककारी क्रियाकलापको विरुद्धमा छ भन्दै सो पत्रमा आतंककारीका विरुद्धमा गरिने कारबाहीमा नेपाल सरकार बेलायत सरकार र बेलायती नागरिकका पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्