गाउँमा तीन दल मात्र



रोशन पराजुली, हेटौंडा
मकवानपुरका १० स्थानीय निकायमध्ये ८ वटा गाउँपालिका छन्। वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट प्राप्त जनमतको गणना पनि ती गाउँपालिकाहरूमा सकिएको छ।

मकवानपुरका ८ गाउँपालिकाको मतपरिणामले आगामी ५ वर्षका लागि प्रमुख तीन दललाई जनताको सेवा गर्ने अवसर प्राप्त भएको छ। तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार मात्र स्थानीय तहको निर्वाचनमा जनताबाट चुनिएका छन्।

मकवानपुरका गाउँपालिकाको ७१ वडामध्ये नेकपा एमालेले सबभन्दा बढी ४३ प्रतिशत उम्मेदवार निर्वाचित गर्न सफल भएको छ भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका क्रमशः ३६ र १८ प्रतिशत उम्मेदवार निर्वाचित भएका छन्।

मकवानपुरका ८ गाउँपालिकाहरू वागमती, बकैया, मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोवर, कैलाश, राक्सिराङ र मनहरीमा ८⁄८ जना गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, ७१ वटा वडामा ७१ वडा अध्यक्ष र २ सय ८४ वडा सदस्यहरू निर्वाचित भएका छन्।

मकवानपुर जिल्लामा २२ दल दर्ता भएर निर्वाचनमा सहभागी भएका थिए। ८ मध्ये मकवानपुरका ५ गाउँपालिका मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोवर, कैलाश र मनहरीमा नेकपा एमालेका उम्मेदवारहरू अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका छन्। २ वटा गाउँपालिका राक्सिराङ र बकैयामा नेपाली कांग्रेसका उम्मेदवार र एउटा गाउँपालिका वागमतीमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अध्यक्ष निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष निर्वाचित भएको वागमती र बकैया गाउँपालिकामा नेकपा एमालेकै उम्मेदवार उपाध्यक्षमा निवाचित भएका छन् भने राक्सिराङ गाउँपालिकामा मात्र नेपाली कांग्रेसका उम्मेदवारहरू अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका हुन्।
८ गाउँपालिकाका ७१ वडामध्ये मनहरी गाउँपालिकाको ९ नम्बर वडामा स्वतन्त्र उम्मेदवार अध्यक्ष निर्वाचित भए भने बाँकी ७० वटा वडामध्ये सबभन्दा बढी ३१ वटा वडामा नेकपा एमालेका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारहरू २६ वटा वडामा अध्यक्ष निर्वाचित भएका छन्।
नेकपा माओवादी केन्द्रका १३ उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन्। इन्द्रसरोवर र मकवानपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारमात्र विजयी भएका छन्। संसद्को चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित मुलुकको राजनीतिको वैकल्पिक शक्ति बन्ने दावी गर्दै आएको नयाँ शक्ति र संघीय समाजवादी पार्टीको तालमेलले गाउँमा कुनै उम्मेदवार विजयी हुन सकेनन्।

प्रतिक्रिया दिनुहोस्