देशभरि ३ सय ९ किमि जोडियो



सुरेश तामाङ, काठमाडौं
चालु आर्थिक वर्षमा जम्मा ३ सय ९ किमि नयाँ सडक सञ्जालमा जोडिएको पाइएको छ। ७ सय किमि नयाँ सडक निर्माण गरेर सञ्जालमा जोड्ने यस वर्षको लक्ष्यअनुरुप ३ सय ९ किमि सडक सञ्जालमा जोडिएको सडक विभागका प्रवक्ता दयाकान्त झाले बताउनुभयो।

सडक विभागले यस वर्षको दोस्रो चौमासिकसम्म नयाँ सडकको ४ सय १२ किमि रणनीतिक र ३ सय ३८ किमि स्थानीय गरी ७ सय ५० किमि ट्रइक खोल्ने लक्ष्य राखेकामा १ सय ७० किमि रणनीतिक र १ सय ३९ किमि स्थानीय गरी ३ सय ९ सडकको ट्रइक खोली सडक सञ्जालमा जोडेको हो।

त्यस्तै विभागले दोस्रो चौमासिकमा २ सय ४७ किमि सडक निर्माण गरी सडक सञ्जालमा जोड्ने लक्ष्य राखेकामा २ सय ३४ किमि सडकखण्ड निर्माण गर्न सकेको छ।

विभागले चालु चौधौं त्रिवर्षीय योजना (०७३⁄७४–०७५⁄७६)मा २ हजार किमि नयाँ सडक खण्ड निर्माण गरी सडक सञ्जालमा जोड्ने लक्ष्यअनुरुप नयाँ सडकहरू जोड्ने क्रम तीव्र रुपमा भइरहेको छ।

विभागले अघिल्लो तीन आर्थिक वर्षहरू २०७०⁄७१ मा ११ सय ८० किमि, आव २०७१⁄७२मा ६ सय ४८ किमि र आव २०७२⁄७३ मा ६ सय ३९ किमि नयाँ सडकहरू मुलुकको सडक सञ्जालमा जोडेको छ।

त्यस्तै, विभागले चालु चौधौं त्रिवर्षीय योजनामा डोल्पा र हुम्लाका जिल्ला सदरमुकाम जोड्न २ किमि सडक खण्ड निर्माण गरी मुलुकको सडक सञ्जालमा जोड्ने लक्ष्य राखे पनि त्यो अहिलेसम्म पूरा हुन सकेको छैन।

त्यहाँसम्म सडक पुर्याउन विभिन्न माध्यमबाट प्रयास भइरहेको सडक विभागका प्रवक्ता झाले बताउनुभयो। उहाँका अनुसार हालसम्म मुलुकभर गरी १५ हजार किमि सडक सञ्जालमा जोडिइसकेको छ।

सडकको नयाँ ट्रइक खोल्नुको साथै विभागले यस वर्ष ग्राभेल र कालोपत्रेसमेत गरेको छ। यस वर्ष विभागले ४ सय ४२ सडकमा ग्राभेल गरेको छ भने १ सय २९ किमि सडक कालोपत्रे गरेको छ। विभागले यसवर्ष ९ सय ४० किमि सडकमा ग्राभेल गर्ने र ६ सय ८८ सडकखण्ड कालोपत्र गर्ने लक्ष्य राखेको थियो।
लक्षित योजनाअनुसार कम उपलब्धि हुनुमा विभागले कार्यक्षत्रमा आफ्नो कम जनशक्ति हुनु, अन्तर निकायबीच समन्वयको अभाव हुनु, जग्गा अधिग्रहण र मुआब्जा वितरण र बजेटको अभाव लगायत कुरा औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस्