तीनजना व्यापारी पनि उम्मेदवार बन्ने



दमक, ९ जेठ । यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घका कार्यसमितिका तीनजना सदस्य आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेवार बन्नु हुने भएको छ ।

उहाँहरुले आआफ्नो राजनीतिक दलबाट दुईजनाले वडा अध्यक्ष र एकजनाले वडा सदस्य पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

सङ्घका तृतीय उपाध्यक्षसमेत रहनुभएका ताराप्रसाद अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दमक–१ को वडा अध्यक्षमा, सङ्घका कार्य समिति सदस्य नवीन अग्रवालले दमक–६ बाट राप्रपाबाट वडा सदस्य पदमा उम्मेदवार बन्नुहुने बताउनु भएको छ ।

यसैगरी, सङ्घका कार्यसमिति सदस्य राजु खड्काले नयाँ शक्ति पार्टीबाट दमक–६ को वडा अध्यक्ष पदमा उम्मेवार बन्नु हुनेभएको हो । जेठ ३१ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै चुनावी चहलपहल बढ्दै गएको छ ।

चुनावी चहलपहल बढेसँगै नगरमा उम्मेदवारको घोषणा हुनेक्रम पनि बढ्दो छ । दमक नगरमा हालसम्म नेकपा (माओवादी केन्द्र) तथा राप्रपाले प्रमुख, उपप्रमुखसहित वडा तहका सबै उम्मेदवार घोषणा गरिसकेका छन् भने काँग्रेस र एमालेले जेठ १२ गतेसम्म औपचारिक रुपमा नगरका उम्मेदवार घोषणा गरिसक्ने जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्