मुम्बई च्याम्पियन



नयाँ दिल्ली, (एजेन्सी)
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि तेस्रोपटक जितेको छ।

आइतबार राति भएको खेलमा खराब ब्याटिङ गरेको मुम्बईले राइजिङ पुणे सुपरजायन्टलाई एक रनले हराएको थियो। मिचेल जोन्सनले अन्तिम ओभरमा घातक बलिङ गरेपछि नै मुम्बईको उपाधि पक्का भएको थियो।

हेदरावाद मैदानमा टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षति बेहोरेर १ सय २९ रन बनाएको थियो। उनीहरूका बलरले पुणेलाई ६ विकेटको नोक्सानीमा १ सय २८ रनमा खुम्च्याएका थिए। अन्तिम बलमा डेनियल क्रिस्टियन रनआउट भएका थिए। उनी र वासिङ्टन सुन्दरले तेस्रो रन लिएर सुपर ओभरमा खेल तान्न कोसिस गरेका थिए। तर उनी सफल भएनन्।
यसअघि मुम्बई तेस्रो ओभरमै ८ को स्कोरमा दुई विकेट गुमाएर संघर्षरत स्थितिमा पुगेको थियो। जयदेव उनादकटले दुवै ओपनर आउट गरेका थिए। उनले लेन्डल सिमोन्सको सानदार क्याच पनि लिएका थिए।

कप्तान रोहित शर्माले २२ बलमा २४ रन बनाएर आउट भएपछि मुम्बई १ सय रन पनि नकट्ने स्थितिमा थियो। तर क्रुनाल पाण्डेले ५ छक्का प्रहार गर्दै ४७ रन बनाएर आउट हुन्जेल टोलीलाई सम्मानजनक स्कोरमा पुर्याइसकेका थिए। तर बलिङमा भने क्रुणालले आजिन्क्य रहाणेको क्याच छाडेर झन्डै नायकबाट खलनायक बन्न लागेका थिए। रहाणेले ३८ बलमा ४४ रन जोडेका थिए। एमएस धोनीले १३ बलमा १० रन बनाए भने कप्तान स्टिभ स्मिथ ४९ बलमा ढिलो अर्धशतक बनाएका थिए। साथै यो आईपीएलको ढिलो अर्धशतक थियो। पुणेले अन्तिम ओभरमा मात्र ११ रन पनि व्यवस्था गर्न सकेन।

प्रतिक्रिया दिनुहोस्