पराजयमा दोष



अहिले कतिपय दल र उम्मेदवारले गनगन गरेको सुनेर धरहरा वरपरका थुप्रैले रमाइलो मानेका छन्। चुनाव हार्ने अवस्थामा पुगेपछि दल र उम्मेदवारहरू कोही निर्वाचन आयोगलाई दोष दिने, कोही सरकारलाई दोष दिने त कोही भनेको चुनाव चिह्न नदिएकाले चुनाव हार्ने अवस्थामा पुगेको बताउन थालेका छन्। कोहीले चाहिँ आफ्नो पार्टीको नेतृत्वतर्फ औंला ठड्याउन थालेका छन्। तर, सबैभन्दा मुख्य कुराचाहिँ उनीहरू स्वयंले देश र जनताको सेवा गर्न ढंग नपुर्याएको कुरा भने बिर्सिरहेको पाइएको छ।

रमाइलो छैन त पाठकवृन्द? चुनावमा जनताले नपत्याएर पत्तासाफ गर्ने अनि उम्मेदवार महोदयहरू अझै हिरो बन्नका लागि भ्रम छर्न पछि नपर्ने। पहिला त यो यो काम गरेको थिएँ भनेर देश र जनतालाई प्रभावमा पार्नुपर्यो नि। खालि गफ दिएर अझै अरूलाई दोष दिने? यस्तै गर्नुभयो भने त उम्मेदवार महोदयहरू अर्को चुनावमा तपाईंलाई आफ्नैबाहेक अरूको मत नआउला नि। अझ हेटौंडाका एक जना उम्मेदवारले त आफैले आफैलाई पनि मत हालेनन् रे। सायद उनलाई आफ्नै मूल्यांकन गर्दा ठीक नलागेर मत नहालेका होलान्। आफ्नो मूल्यांकन गरेर तिनले ठीक गरेछन्। अरू उम्मेदवारहरूले पनि त्यसबाट सिक्ने हो कि?

प्रतिक्रिया दिनुहोस्