सरकार विरोधीहरूको सार्वजनिक बेइज्जती



अंकारा, (एजेन्सी)
टर्कीमा गत वर्षको जुलाईमा राष्ट्रपति रिसेप तायिप एर्दोगानविरुद्ध भएको असफल सैनिक विद्रोहमा सरिक रहेको आशंका गरिएका दर्जनौं व्यक्तिलाई सोमबार राजधानी अंकारामा मुद्दाका लागि लाने क्रममा सयौं सामु हिँडाएरै लगिएको प्रहरीले जनाएको छ।

यसरी सार्वजनिकरूपमा बेइज्जती गरिएका २ सय २१ जना व्यक्तिमध्ये अधिकांश उच्च पदस्थ सैनिक अधिकारीहरू भएको बताइएको छ। ती आशंकितहरूको पङक्तिको अग्रस्थानमा भूतपूर्व वायु सैनिक कमान्डर अकिन ओज्तुर्कलाई राखिएको थियो।

टर्कीको प्रचलित कानुनमा मृत्युदण्डको व्यवस्था नरहे पनि भिडबाट तिनीहरूका लागि मृत्युदण्ड मागिएको थियो। सन् २०१६ का उक्त असफल सैनिक विद्रोहपछि १० हजार जनाभन्दा बढी सरकारी कर्मचारीलाई बर्खास्त गरिएको थियो। अहिले पनि प्रहरीले अनुसन्धान गर्दै शिक्षक, कर्मचारी, प्रहरी र सेनालाई घरपकड गर्ने काम रोकेको छैन।

हिजो पनि प्रहरीले विगत ७५ दिनदेखि राष्ट्रपति एर्दोगानको सरकारविरुद्ध भोक हडतालमा भाग लिँदै आएका दुई जना शिक्षकलाई गिरफ्तार गरेको छ।

प्रतिक्रिया दिनुहोस्