फिलिपिनी राष्ट्रपति डुटेर्टे रसियामा



मनिला, (एजेन्सी)
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे आफूलाई मनपर्ने नेता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नका लागि सोमबार रसियातर्फ गएका छन्। लामो समयदेखि संयुक्त राज्य अमेरिकाको गठबन्धनमा रहेका फिलिपिन्सले उनको विदेशी नीतिको कारण अर्कै दिशामा फर्केको छ भने उनले रसियाबाट हातहतियार प्राप्त गर्ने कोसिस पनि गर्ने भएका छन्।

डुटेर्टेको यस पाँच दिने भ्रमणले गत वर्ष नाटकीय ढंगले सुधार भएको फिलिपिन्स र रसियाबीचको सम्बन्धलाई अझै मजबुत बनाउने कूटनीतिक विश्लेषकहरूको भनाइ रहेको छ। रसियातर्फ प्रस्थान गुर्नअघि पत्रकारहरूलाई सम्बोधन गर्दै डुटेर्टेले दशकौं लामो अमेरिकीसँग गठबन्धन आडम्बरपूर्ण र विभेदपूर्ण भएको प्रतिक्रिया दिएका छन्।

उनले लामो समयदेखि परम्परागत रूपमा एउटै राष्ट्रमाथि निर्भर रहनाले फिलिपिन्सले अन्तर्राष्ट्रिय जगत्मा आफ्नो महत्त्व देखाउन नसकेको पनि बताएका छन्। उनी आफू राष्ट्रको पुरानो नीति सच्याउन कटिबद्ध रहेको बताएका छन्। डुटेर्टेले रुसी राष्ट्रपति पुटिन आफ्नो हिरो भएको र पुटिनको जस्तो आफू पनि शिकार र बन्दुकको शौखिन भएको बताएका छन्।

यी दुई नेताबीच बिहीबार भेटवार्ता हुने कार्यक्रम रहेको छ। सत्तामा पुगेदेखि नै उनले आफूले चीन र रसियासँग बलियो गठबन्धन बनाउने बताउँदै आएका थिए। डुटेर्टेले अमेरिकासँगको वार्षिक संयुक्त सैनिक अभ्यासको संख्यामा काटौती गर्नुका साथै फिलिपिनो फौजलाई विवादास्पद दक्षिण चीन सागरमा संयुक्त गस्ती गर्न पनि रोक लगाएका छन्।

साथै उनले अमेरिकी फौजलाई फिलिपिन्सबाट हट्न पनि आग्रह गर्दै आएका छन्। गत साता डुटेर्टेले चिनियाँ राष्ट्रपति सि जिन्पिङले भूभाग विवादलाई लिएर फिलिपिन्ससँग युद्धमा जाने चेतावनी दिएको बताएका थिए।

स्वघोषित समाजवादी डुटेर्टेले फिलिपिन्सलाई अमेरिकामाथिको पूर्ण निर्भरताबाट मुक्त गरी चीन र रसियासँग बलियो सम्बन्ध विस्तार गर्ने पक्षमा रहेका छन्। यसको बदलामा कमसेकम चीन र रसियाले डुटेर्टेको लागूऔषध तस्करी र प्रयोगकर्ता निमिट्यान्न पार्ने अभियानलाई लिएर एक शब्द पनि बोलेको छैन। सो अभियान दौरान फिलिपिनी सरकारले हजारौं व्यक्तिको ज्यान लिएपछि अमेरिकाले विरोध जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्