शहरमा किन पत्याइएन माओवादी ?



प्रशान्त वली

सत्तारूढ माओवादी केन्द्रले देशको राजधानीमा केही न केही गरेको दाबी गर्छ। बाहिर देखिएकै पनि हो– लोडसेडिङमुक्त गर्न सबैभन्दा पहिला सोही पार्टी नेतृत्वको सरकारले राजधानी काठमाडौंलाई नै रोजेको हो। तर, पहिलो चरणको स्थानीय चुनावका क्रममा राजधानी काठमाडौंमा उसले पाएको मत भने निकै नै लाजमर्दो रह्यो। आखिर किन यस्तो भएको होला ? सोही पार्टीका नेता पनि अहिले आश्चर्य प्रकट गरिरहेका छन्।

स्थानीय तहको पहिलो चरणको नतिजा अब केही स्थानको मात्रै बाँकी रहेको छ। यद्यपि अहिलेसम्मको नतिजा हेर्दा माओवादी अन्य स्थानमा लगभग तेस्रो स्थानमा रहे पनि काठमाडौं महानगरपालिकाभित्र भने त्योभन्दा पनि पछाडि रहेको छ। माओवादीलाई स्वतन्त्र उम्मेदवारले नै जितेको अवस्था रहेको छ। विशेषतः गाउँमा जितेको माओवादीले शहरका अधिकांश नगरपालिकादेखि महानगरपालिकासम्म हार व्यहोरेको छ।

माओवादीले आफ्नो सरकारको पालामा लोडसेडिङ घटाएको, राष्ट्रिय गौरवका आयोजनाहरू प्रारम्भ गरेको, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाएको चर्चा गर्ने गरेको छ। तर, यी चर्चाले शहरी क्षेत्रका जनतालाई भने खासै छोएको पाइएको छैन। विशेषतः महानगरपालिका र नगरपालिकामा एमाले र कांग्रेस नै पहिलो र दोस्रो भइरहेको अवस्था रहेको छ।

माओवादीले शहरी क्षेत्रमा संगठन मजबुत गराउन नसकेकै कारण नतिजा उपलब्धिमूलक नआएको विश्लेषकहरूको टिप्पणी छ। पहिलो चरणको निर्वाचनमा मजदुरहरूको साथ लिएर राजनीति गरे पनि अहिले मध्यम वर्गको आवाजलाई कुनै वास्ता नगर्दा शहरी क्षेत्रमा हार व्यहोरेको हुन सक्ने वाम विश्लेषक हरि रोकाले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो। उहाँले भन्नुभयो– ‘पहिलो कुरा त माओवादीले संगठनको आधार बनाउनै सकेन। सँगै सरकारमा भएको समयमा गरेका जलविद्युत्, भूकम्पपीडित, अन्तर्राष्ट्रिय समन्वयका लागि भएका सकारात्मक काम र योजनाहरूको प्रचारप्रसार व्यापक गर्न सकेन। त्यही भएर पनि माओवादीको मत तुलनात्मक रूपमा कम आएको हुन सक्छ।’

माओवादीको विभाजनका कारण पनि पार्टी कमजोर भई मत परिणाम केही खस्केको हुन सक्ने विश्लेषक मुमाराम खनालको भनाइ छ। शहरका जनताले जातिवादी र क्षेत्रवादी राजनीति मन नपराएको तर सो पार्टीको नीति नै संकीर्णताको भएका कारण हार व्यहोर्नुपरेको विश्लेषक खनालले बताउनुभयो। उहाँले भन्नुभयो– ‘नेताहरूले आफ्नो व्यवस्था त गरे तर, कार्यकर्ताको व्यवस्थापन गर्न जानेनन्।’

पार्टीमा नीतिगत अस्थिर चरित्र हावी हुनुका साथै निकै आर्थिक अपचलन पनि भयो। त्यही भएर लज्जास्पद तरिकाले शहरका विभिन्न स्थानमा हारेको छ। मुख्य नेताहरूले नै पार्टीबाट अलग–अलग धार अँगाल्दा पार्टीको जनमत विस्तारै खस्कँदै गएको खनालको दाबी छ। माओवादीलाई पहिलो संविधानसभाको चुनावमा जिताए पनि प्रतिबद्धताहरू नारामा मात्रै सीमित हुँदा स्थानीय निकायको चुनावमा शहरका नागरिकले भोट नदिएको विश्लेषक खनालले बताउनुभयो।

लेखक राजेन्द्र महर्जनले माओवादीले जनतालाई जनविश्वास नदिलाउँदा सो पार्टीलाई निकै अप्ठेरो परेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘जितेर माओवादीले दिएको आश्वासन कार्यान्वयन नगरेकाले पनि बढी मात्रामा शहरका स्थानहरूमा हार व्यहोर्नुपरेको हो। अब आश्वासन मात्रै होइन काम पनि गर्ने र संगठन पनि मजबुत बनाउँदै जाने हो भने जित्ने ठाउँ प्रशस्त छ।’

जनयुद्ध गाउँबाटै भएकाले ग्रामीण क्षेत्रमा राम्रो मत आएको तर, मध्यमवर्गीय जनताले चाहेअनुसारको प्रतिनिधित्व गर्ने उम्मेदवार छनोट गर्न नसक्दा आफूहरूले शहरमा पराजय व्यहोर्नुपरेको माओवादी केन्द्रका नेता मणि थापाको भनाइ छ। आफ्नो पार्टीले सरकारमा भएका बेला गरेका राम्रा कामको प्रचारप्रसार आक्रामक ढंगले गर्न नसक्दा पनि शहरमा निकै कम मत आएको माओवादी नेता थापाले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सामाजिक व्यक्तित्व र स्थानीय समस्यालाई हाम्रो पार्टीले त्यति ध्यान दिएन। साथै तालमेलको नीति शहरमा उपर्युक्त ढंगले हुन सकेन। त्यसैकारण पनि कम मात्रामा शहरी क्षेत्रमा जितेका छौं। आगामी दिनमा तालमेलको नीतिलाई स्थानीय पार्टीले मिलाउने गरी अघि बढ्ने योजना बनाएका छौं।’


पहिलो संविधानसभाको चुनावमा माओवबादी पहिलो स्थानमा थियो भने दोस्रो संविधान सभाको निर्वाचनमा तेस्रो भएको थियो। अहिलेको निर्वाचनमा पनि तेस्रो भए पनि शहरी इलाकाबाट निकै पछाडि परेको अवस्था रहेको छ।

जनयुद्ध गाउँबाटै भएकाले ग्रामीण क्षेत्रमा राम्रो मत आएको हो। तर, मध्यमवर्गीय जनताले चाहेअनुसारको प्रतिनिधित्व गर्ने उम्मेदवार छनोट गर्न नसक्दा शहरमा पराजय व्यहोर्नुपरेको छ।

मणि थापा
नेता, माओवादी केन्द्र

जितेर माओवादीले दिएको आश्वासन कार्यान्वयन नगरेकाले पनि बढी मात्रामा शहरका स्थानहरूमा हार व्यहोर्नुपरेको हो। अब आश्वासन मात्रै होइन काम पनि गर्ने र संगठन पनि मजबुत बनाउँदै जाने हो भने जित्ने ठाउँ प्रशस्त छ।

राजेन्द्र महर्जन
लेखक

विभाजनका कारण पनि माओवादी कमजोर भई मत परिणाम केही खस्केको हुन सक्छ। शहरका जनताले जातिवादी र क्षेत्रवादी राजनीति मन नपराएको तर सो पार्टीको नीति नै संकीर्णताको भएका कारण हार व्यहोर्नुपरेको हो।

मुमाराम खनाल
पूर्ववामपन्थी
(हाल साझा पार्टीका नेता)

पहिलो कुरा त माओवादीले संगठनको आधार बनाउनै सकेन। सरकारमा भएको समयमा गरेका जलविद्युत्सम्बन्धी, भूकम्पपीडितसम्बन्धी र अन्तर्राष्ट्रिय समन्वयका लागि भएका सकारात्मक काम तथा योजनाहरूको प्रचारप्रसार व्यापक गर्न सकेन। त्यही भएर पनि माओवादीको मत तुलनात्मक रूपमा कम आएको हुन सक्छ।

हरि रोका
वाम विश्लेषक तथा
पूर्वसभासद्

प्रतिक्रिया दिनुहोस्