श्याम वर्णका सफल सुन्दरी



शारीरिक बनावट जस्तो भए पनि मानिस गोरो हुनु सुन्दरताको प्रतीक हो भन्ने आम मानिसको धारण हुन्छ। यसैले त धेरै सौन्दर्य कम्पनीहरुले गोरो बनाउने क्रिमको नाममा पैसा कमाइरहेका हुन्छन्। ती क्रिमका विज्ञापनमा गोरा हिरोइनहरुलाई देख्न पाइन्छ। बलिउडमा फिल्म उद्योगमा हिरोइन भएपछि गोरो हुनुपर्छ भन्ने मान्यता छ। तर, यही भीडमा यस्ता हिरोइनहरुको जमात छ, जो श्याम वर्णको भएर पनि आफ्नो करिअरमा अगाडि छन्।
उनीहरु अन्य गोरा हिरोइनलाई पछाडि पार्दै निरन्तर अघि बढिरहेका छन् भने उनीहरुको फ्यान फलोअर्स पनि टन्नै छन्। दीपिका पादुकोणले आफू गहुँगोरी भए पनि स्टार बन्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेकी छिन्। उनी बलिउडमा सफल मोडल र सफल हिरोइन हुन्। हुन सक्छ उनले कुनै बेला मेकअपका कारण आफूलाई स्क्रिनमा गोरीरूपमा प्रस्तुत गरिन्, तर वास्तवमा उनी गोरी भने छैनन्।

भारतको दूरदर्शन टेलिभिजनमा समाचार पढ्दै गर्दा फिल्म निर्देशक श्याम बेनेगलको ध्यान स्मिता पटेलतर्फ गयो र फिल्ममा अफर गरे। श्याम वर्णकी स्मिता आफ्नो प्रतिभाको बलमा तमात भारतीयहरुको मन जितेर अन्य हिरोइनलाई पछाडि पार्दै सर्वश्रेष्ठ हिरोइन बन्न सफल भइन्। बलिउडमा आफ्नो कलाको कारण रङले फरक पार्दैन भनेर देखाउने हिरोइनमध्ये एक हुन शिल्पा सेट्टी। उनले आफ्नो अभिनयका कारण थुप्रै दर्शकको मन जितिसकेकी छिन्। रेखाले जब बलिउडमा पाइला चालिन्, उनलाई काली भद्दी र केही नजान्ने अभिनेतृको रूपमा लिइन्थ्यो। पछि केही राम्रो भनिएका अभिनेतृहरुको बीचमा उनले आफ्नो छुट्टै जग बसालेकी थिइन्।

विपासा वसु बलिउडका धेरै कमर्सियल फिल्ममा खेलिन् र उनलाई श्याम वर्णकी भए पनि हट अभिनेतृको रूपमा लिइन्छ। फिल्म बेखुदीबाट बलिउड फिल्ममा पाइला चालेकी काजोलले विभिन्न फिल्ममा काम गरेर चर्चा बटुलिन्। शुरुआति फिल्ममा प्रस्ट श्याम वर्णकी देखिने उनी पछिल्ला फिल्ममा गोरी देखिन थालिन्। भनिन्छ कि उनले गोरी हुनका लागि उपचारपद्धति अपनाएकी थिइन्।

बलिउडमा विद्या बालान आफ्नो अभिनयको बलबुतामा यसरी जमिन् कि शाहरुख खानले उनलाई चौथो खान भन्ने उपनाम दिए। बलिउडमा आइटम गर्लको रूपमा नाम कमाएकी नायिका मलाइका अरोरा खानलाई पनि आफ्नो करिअरमा कालो वर्णले फरक पारेन। गहुँगोरी वर्णकी फ्रिडा पिटोले बलिउडमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा नै यस्तो सफलता हासिल गरिन् कि, जुन अरू गोरा हिरोइनहरुले हासिल गर्न सकेका छैनन्। फायर, अर्थ विफोर द रेन्सजस्ता फिल्ममा आफ्नो प्रतिभाशाली अभिनयका कारण पुरस्कार हासिल गर्न सफल नन्दिता दास ती मानिसहरुको कठोर आलोचना गर्छिन्, जो सुन्दर हुनका लागि गोरी हुन जरुरी छ भन्ने धारणा राख्छन्।

प्रतिक्रिया दिनुहोस्