नेपाल र बंगलादेशको कला प्रदर्शनी



नेपाल र बंगलादेशका कलाकारको सामूहिक कला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहलमा आइतबारबाट शुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय र नेपालका लागि बंगलादेशका राजदूत मास्की विन्ते साम्सले संयुक्तरूपमा प्रदर्शनीको शुभारम्भ गरेका थिए।

दुई देशबिचको सम्बन्धलाई प्रगाढ गराउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको सहभागी कलाकार तथा बिन आर्ट इभेन्टका बंगलादेशी निर्देशक इलहाम हक खुकुले बताइन्। कार्यक्रममा बंगलादेशी आर्ट क्युरेटर तथा सहभागी कलाकार नसिमा कुइनीले कलाले फरक संस्कृतिका सबै मानिसलाई एकै ठाउँमा ल्याउन मद्दत गर्ने भएकाले यो प्रदर्शनीले सांस्कृतिकरूपमा जोड्ने सकेको चर्चा गरिन्। बंगलादेशका प्रशिद्ध कलाकार तथा प्रोफेसर डा. फरिदा जमनले कलाले फरक संस्कृतिका मानिसलाई चिनाउन र नजिक ल्याउन भूमिका खेल्ने बताइन्।

नेपालका लागि बंगलादेशी राजदूत साम्सले बंगलादेशका कलाकारले नेपालमा कला प्रदर्शनी गरेर राम्रो काम गरेको चर्चा गरे भने कला क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको प्रतिष्ठानका कुलपति उपाध्यायले बताइन्। कला प्रदर्शनीको उद्देश्य र भविष्यमा यसले पार्ने दूरगामी प्रभावका बारेमा चर्चँ गर्दै कलाकार तथा कला लेखक नगेन्द्रप्रसाद पौड्यालले नेपाल र बंगलादेशका कलाकारलाई अवसर प्रदान गर्नु प्रदर्शनीको लक्ष्य रहेको बताए।

५ दिनसम्म चल्ने प्रदर्शनीमा बंगलादेश र नेपालका दुई दर्जन कलाकार सहभागी छन्। प्रदर्शनीको पहिलो दिन चित्र कार्यशाला समेत गरिएको थियो। कार्यशालाबाट एक अर्काका सीप र ज्ञान सिक्ने अवसर पाउने सहभागी कलाकार रीता मानन्धरले बताइन्। कलाकारका कलाले भिन्न संस्कृतिलाई बुझ्न सहज हुने बंगलादेशी कलाकार नाजमुन अख्तर ख्कोलीले बताइन्। प्रदर्शनीमा कुलपति रागिनी उपाध्याय, शशिविक्रम शाह, मदन चित्रकार, रतनकुमार राई, आईबी मल्ल, लोक चित्रकार, नगेन्द्रप्रसाद पौड्याल, एससी सुमन, रामपुजन ठाकुर, पकबहादुर थापा, सपना पौडेल मर्हजन, रीता मानन्धर, एनबी गुरुङ, रेविका मर्हजन, सम्झना राजभण्डारी, सुरेम देसार नेपालबाट सहभागी रहेका छन्। त्यस्तै बंगलादेशबाट प्रो.डा. फरिदा जमिन, नाजिया मसुद खान, नाजमुन अख्तर ख्कोली, इलहाम हक खुकु, नासिमा कुइनी, रञ्जित दास, इस्तिएक तलुकदर सन्नी, सरदेर बकिरुद्दिन, रोखना अख्तर रिपा र महमद मेहदी हसन सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्