प्रधानमन्त्रीको राजीनामा ‘खल्तीमा’



देउवाले भन्नासाथ छोडिदिने, अन्यथा नभए भोलिबाट बिदा

मधुसूदन रायमाझी, काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भोलि जेठ १० गते प्रधानमन्त्री पदबाट राजीनामा दिन लागेको पार्टीको बैठकमा जानकारी गराउनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकमा प्रधानमन्त्रीले सो जानकारी गराउनुभएपछि अन्य नेताहरुले कांग्रेससँगको सहमतिअनुसार पद छोड्नु नै उपयुक्त हुने सुझाव दिएका थिए। माओवादी केन्द्रका एक नेताले भने– ‘प्रधानमन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जहिले छोड भन्नुहुन्छ त्यही दिन प्रधानमन्त्री छोड्न तयार हुनुहुन्छ। कुनै विशेष घटनाक्रम भएन भने प्रधानमन्त्रीले १० गते राजीनामा दिनुहुनेछ।’

पहिलो चरणको स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजक रहेको निष्कर्ष निकाल्दै बैठकले पार्टीको संगठन व्यवस्थित नहुँदा पनि पार्टीले सोचेअनुसारकै नतिजा ल्याउन सफल भएको जनाएको छ।

बैठकले निर्वाचन परिणाम अपेक्षाअनुसार नै भएको निष्कर्ष निकालेको छ। निर्वाचनमा सिट संख्याको आधारमा भन्दा एजेण्डा विजय भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकार हुँदा भएको निर्वाचनले सबै नेपाली जनताको जित भएको बताउनुभएको थियो।

पहिलो चरणमा चुनाव भएका २ सय ८३ स्थानीय तहमध्ये ४६ स्थानमा माओवादीले जित हासिल गरेको छ। ४६ स्थानीय तहमा विजयी भएको बताउँदै पार्टीका प्रवक्ता पम्फा भुसालले ५० स्थानमा दोस्रो भएको बताउनुभयो। स्थानीय तहको मतपरिणामले प्रदेश र संघको निर्वाचन जित्ने आधारको रुपमा लिएको उहाँले बताउनुभयो।

बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै माओवादी केन्द्रका नेता मणि थापाले भन्नुभयो– ‘जनमतको आधारले माओवादी कमजोर छ तर सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित हो।’ बैठकमा प्रचण्डले आफूलाई सरकारको नेतृत्वको कुनै लोभ नरहेको बताउँदै सहमति र सहकार्यमार्फत नै कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो।
माओवादीले दोस्रो चरणको निर्वाचनमा पहिलो चरणको निर्वाचनबाट पाठ सिक्दै राम्रो परिणाम ल्याउने बताउँदै प्रवक्ता भुसालले माओवादीले सिट संख्या कम ल्याए पनि जनताको घरदैलोमा अधिकार पुर्याउन सफल भएको बताउनुभयो।
बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई संविधान संशोधन विधेयक पारित गरेर सहमतिमा ल्याउने बताउनुभएको थियो।

प्रचण्डको भनाइ उद्धृत एक नेताले भने– ‘निर्वाचनमा जसरी पनि मधेसवादी दलहरुलाई सहभागी गराउनुपर्छ, एमाले मानिरहेको छैन, संशोधन नभई मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने भनिरहेको छ, अब केही गर्दा पनि भएन भने संविधान संशोधन विधेयकलाई यथावत् राखेर भए पनि निर्वाचन गराउनुपर्छ।’

प्रचण्डले तत्काल संविधान संशोधन विधेयक पारित नभएको अवस्थामा स्थानीय तहको संख्या थपेर भए पनि मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिनुभएको थियो। विधेयक फेल गराउनुभन्दा यथास्थितिमा राखेर निर्वाचनपछि पनि विधेयक पारित गराउन सकिने निष्कर्ष प्रचण्डले बैठकमा नेताहरुलाई जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्