अख्तियार प्रमुखको शपथमा प्रधानन्यायाधीश अनुपस्थित



काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको हैसियतमा गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षकमा टंकमणि शर्मालाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ।

सो कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्की भने सहभागी हुनुभएको थिएन। दुवै पदाधिकारीको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठकमा पनि प्रधानन्यायाधीश कार्की महाअभियोगका कारण निलम्बित हुनुभएकाले पराजुली नै बैठकमा सहभागी हुनुभएको थियो। सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश कार्कीले हिजो बिदा लिनुभएको थियो।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजना गरिएको विशेष समारोहमा कार्यवाहक प्रधानन्यायाधीश पराजुलीले बस्न्यात र शर्मालाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो।

समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीमगर, मुख्य सचिव डा. सोमलाल सुवेदी, सचिव र नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त बस्न्यात र महालेखा परीक्षक शर्मालाई संसदीय सुनुवाइ समितिले आइतबार नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्