राप्रपाले भन्यो साधारण बजेट मात्रै ल्याऊ



नेपाल समाचारपत्र
काठमाडौं
पहिलो चरणको निर्वाचनमा अनपेक्षित हार व्यहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको निर्वाचनमा कमिकमजोरी सुधार्दै अघि बढ्ने जनाएको छ। साथै, दास्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएको तथा निर्वाचन आचार संहिता कार्यान्वयन भइरहेको अवस्थामा दीर्घकालीन योजना र कार्यक्रमसहितको पूर्ण बजेट ल्याउनु अनुपयुक्त हुने भन्दै राप्रपाले सरकारसँग साधारण बजेट मात्र संसद्मा पेस गर्न माग गरेको छ।

पहिलो चरणको निर्वाचन परिणाम, दोस्रो चरणको निर्वाचनको सन्दर्भ तथा राष्ट्रिय राजनीतिको पछिल्लो अवस्थाबारे छलफल गर्न राप्रपाको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दोस्रो चरणको निर्वाचनका लागि उच्च मनोबलका साथ तयारीमा जुट्न पार्टीका सबै तहका नेताहरूलाई आग्रह पनि गरेको छ। कार्यसम्पादन समितिको बैठकले जेठ १५ गतेदेखि सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई चुनाव नसकिएसम्म अनिवार्यरूपले जिल्लामा रहेर क्रियाशील हुनुपर्ने निर्णय गरेको छ।

तुलनात्मकरूपमा कमजोर संगठन, साधन स्रोतको कमी एवं पार्टीको वैचारिक निष्ठा र राजनैतिक अडानका बारेमा योजनाबद्ध ढंगले सिर्जना गरिएको भ्रमका कारण पहिलो चरणको चुनावमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको निष्कर्ष निकालेको राप्रपाले पहिलो चरणको मतपरिणामबाट चिन्तित र विचलित हुनुपर्ने अवस्था नरहेको बैठकको ठहर छ। निर्वाचनको माध्यमबाट पार्टीको एजेन्डा र अडानप्रति आम जनतामा चेतनाको अभिवृद्धि गर्न एवं संगठनको प्रभाव विस्तार गर्न सक्षम भएको भन्दै बैठकले सन्तोष पनि व्यक्त गरेको थियो।

‘गत चुनावको अनुभवबाट पाठ सिकेर तथा कमी–कमजोरीलाई सुधार गर्दै दोस्रो चरणको निर्वाचनमा सहभागी हुन तथा उच्च मनोबलका साथ तयारीमा जुट्न पार्टीका सवै तहका निकाय र कार्यकर्ताहरूलाई बैठक आह्वान गर्दछ’, बैठकको निर्णयमा भनिएको छ– ‘उक्त कमी–कमजोरीलाई सुधार गर्दै दोस्रो चरणको निर्वाचनमा पार्टीको स्थिति सुदृढ तुल्याउन सशक्त प्रभावकारी ढंगबाट चुनावी अभियान सञ्चालन गरिनेछ।’

दोस्रो चरणको निर्वाचनमा पार्टीलाई बढीभन्दा बढी सफलता प्राप्त गर्ने उद्देश्यका साथ राप्रपाले दास्रो चरणमा निर्वाचन हुने जिल्लाहरूमा जेठ २१ गतेभित्र जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने र चुनावलाई दृष्टिगत गर्दै विभिन्न दलहरूसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई दिने निर्णय गरेको छ। चुनावी अभियानलाई थप सुदृढ र प्रभावकारी तुल्याउने भन्दै राप्रपाले स्थानीय तह निर्वाचनको समग्र समीक्षा र पार्टीको स्थितिबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न महामन्त्री धुव्रबहादुर प्रधानको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ।

राप्रपा कार्यसम्पादन समितिको बैठकले स्थानीय तह निर्वाचनको क्रममा वैशाख ३१ गते नरहरिनाथ गाउँपापालिका वडा नं. ६ कालिकोटको राप्रपाका तर्फबाट वडा अध्यक्षका उम्मेदवार धनरूप बटालाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइते भएको घटनाको भत्र्सना पनि गरेको छ। यो घटनामा मृत्यु भएका बटालालाई शहीद घोषणा गर्न र घाइतेहरूको यथाशीघ्र निःशुल्क उपचारका लागि सरकारसँग माग गरेको छ।

संसद्को बजेट अधिवेशन शुरू

काठमाडौं, (नेस)
इतिहासकै लामो संसद् अधिवेशनको समापनपछि सोमबारदेखि व्यवस्थापिका संसद्को तेस्रो अधिवेशन शुरू भएको छ। सोमबारको बैठक शुरू हुने बित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र वाचन गरेर सुनाउनुभयो।

बैठकमा आर्थिक वर्ष २०७४⁄०७५ को आयव्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि मंगलबार विचारविमर्श गर्ने तयारी भएको छ। छलफल आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा केन्द्रित हुने जनाइएको छ। व्यवस्थापिका संसद्को अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने सभामुख घर्तीले जानकारी गराउनुभयो।

यता आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ११ गते प्रस्तुत गर्ने सरकारको तयारी छ। राष्ट्रपति भण्डारीले उक्त दिन सरकारको नीति तथा कार्यक्रम संसदसामु प्रस्तुत गर्ने जनाएको छ। त्यस्तै, सरकारले जेठ १५ गते पूर्ण आकारको बजेट आउने जनाएको छ। उपप्रधामन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जेठ १५ गते पूर्ण आकारको बजेट ल्याउने जानकारी दिँदै निर्वाचन आचार संहिताविपरित हुने भएकाले बजेटमा नयाँ कार्यक्रम भने समावेश नहुने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्