३७ करोड लगानीमा फलफूल बजार बन्दै



दीपेन्द्र थापा, काठमाडौं

३७ करोड रुपियाँको लागतमा काठमाडौंको चोभारमा आधुनिक फलफूल तथा पुष्प बजार निर्माणको काम शुरू भएको छ। उक्त बजार निर्माण भईरहेको ठाउँबाट नै बाहिरी चक्रपथ जाने भएपछि केही समय अवरोध भएको थियो। उक्त बजारमा ५ तले मल्टिप्लेक्स भवन निर्माण हुनेछ। साथै भवनमा कार्गोसहितको ३ वटा लिफ्ट हुनेछ, पाँच तले भवन निर्माण हुँदैछ। विश्व बैंकको लगानीमा प्याक्ट परियोजना अन्तर्गतको लगानीमा यो भवन निर्माण हुन लागेको कालीमाटी फलफूल बजार विकास समितीका अध्यक्ष एवम् कृषि मन्त्रालयका सहसचिव काशीराज दाहालले नेपाल समाचारपत्रलाई बताउनुभयो । भवन २४ रोपनी जग्गामा निर्माण हुनेछ। विगतमा चुन उद्योग रहेको जग्गा अर्थ मन्त्रालयसँग करिब ३ करोडमा समितिले किनेको हो ।

कुल ३७ करोड रुपियाँ निर्माण लागत रहेको बजार हाल भौतिक पूर्वाधार निर्माणको चरणमा रहेको छ। २४ रोपनी सरकारी जग्गामा निर्माण हुन लागेको बजार अबको एक वर्षमा निर्माणपूरा गर्नेे लक्ष्य राखिएको छ। बाहिरी चक्रपथ निर्माणसँगै बजार पनि विस्तार हुने भएकाले चोभारमा निर्माण भए पनि व्यवसायी र ग्राहकलाई समस्या नपर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो–‘करिब ८०–८५ स्टल रहने भवनमा उच्चस्तरीय आधुनिक भवन बनाएर प्याक्ट परियोजनाले समितिलाई हस्तान्त्रण गर्ने छ।’

उपभोक्ता तथा व्यवसायीलाई मध्यनजर गर्दै अबको दुई वर्षभित्र काठमाडौं उपत्यकासहित विभिन्न ३ स्थानमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शाखा विस्तार गर्ने योजना अनुरूप चोभारको निर्माण कार्य थालिएको उहाँको भनाइ छ। समितिले काठमाडौंको चोभारलगायत बालाजु र धादिङको नौबिसेमा आधुनिक र व्यवस्थित बजार निर्माण गर्ने कार्यलाई अघि बढाएको समितिका कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो। चोभारमा टेन्डर स्वीकृत भएर निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ भने धादिङको नौबिसेमा बजारमा आगामी आर्थिक वर्षमा बजेट मागका लागि प्रस्तावना आह्वान गर्दै गुरुयोजना तयार गरिएको छ ।

यसैगरी बालाजुमा रहेको मत्स्य विकास निर्देशनालयमा कृषि बजार विस्तारका लागि छलफललाई तीव्र पारिएको छ। मत्स्य अनुसन्धान केन्द्रलाई तराईको क्षेत्रमा स्थानान्तरण गरेर मत्स्य तथा कृषि बजार निर्माण गर्ने तयारी थालिएको बताइएको छ। बजार निर्माणले व्यवसायी र ग्राहक दुवै लाभान्वित हुने र कृषि बजारलाई व्यवस्थित एवम् आधुनिक तरिकाले सञ्चालन गर्नका लागि नयाँ बजारको व्यवस्था गर्न लागिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो। ती सबै बजार आगामी आर्थिक वर्षको अन्तिमसम्म निर्माण भइसक्ने गरी योजना बनाइएको समितिले जनाएको छ।
यसैगरी धादिङको नौबिसेमा पनि कृषि बजार निर्माणका लागि योजना भइरहेको छ। सरकारी स्वामित्वकै साढे चार रोपनी जग्गामा आगामी आर्थिक वर्ष २०७४÷७५ मा निर्माण गर्ने बजार विकास समितिको लक्ष्य रहेको छ। कालीमाटी बजारमा स्थान अभाव हुँदा उपभोक्ता र बिक्रेतालाई निकै अप्ठ्यारो पर्ने गरेको छ। उपभोक्तालाई मध्यनजर गर्दै शाखा बिस्तार गर्न थालिएको समितिले बताएको छ।पौडेलका अनुसार कालीमाटी फलफूल तथा तरकारी बजारको पनि आन्तरिक व्यवस्थापन गर्ने तयारी गरिएको छ। करिब २ दशक अघि बनाइएका टहराले दैनिकजसो बढिरहेका व्यवसायी र ग्राहकलाई जसो तसो धानिरहेका छन्। यी संरचना अब एकीकृत रूपमा पुनर्निर्माण गरिने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्