स्विटोलिनाले जितिन् इटालियन ओपन



रोम, (एजेन्सी) युक्रेनकी इलिना स्विटोलिनाले एक सेटले पछि परेर पनि रोममा भएको इटालियन ओपनमा उपाधि जितेकी छन्।

स्विटोलिनाले रोमानियाकी सिमोना हालेपलाई हराएर यो वर्षको चौथो उपाधि हात पारेकी हुन्। २२ वर्षीया खेलाडीले सो फाइनल खेल ४–६, ७–५, ६–१ ले जितेकी थिइन्। यो उपाधिसँगै स्विटोलिना नम्बर एकको दौडमा पनि सहभागी भएकी छिन्। साथै यो वर्ष ३१ खेल जितेकी उनी फ्रेन्च ओपनको उपाधि दाबेदारसमेत बनेकी छिन्।

हालेपले गत साता मात्रै क्लेकोर्टअन्तर्गत मेड्रिड ओपन जितेकी थिइन्। पहिलो सेट ५–२ ले अग्रता लिँदा उनको खुट्टा मर्किएको थियो। तापनि उनले सो सेट ६–४ मा जितिन्। दोस्रो सेटमा उनले खुट्टामा पट्टी बाँधेर खेलिन तर सेट स्विटोलिनाले ७–५ मा जितेर एक–एक सेट बराबरी गरिन्। तेस्रो सेट भने एकपक्षीय भयो, जसमा स्विटोलिनाले मात्र ३० मिनेटमा निर्णायक सेट जितिन्। यसअघि उनले इस्तानबुल, दुबई र ताइपेईमा उपाधि हात पारेकी थिइन्।

जोकोभिच र जभेरेभ फाइनलमा
इटालियन ओपनअन्तर्गत पुरुषतर्फ विश्व नम्बर दुई नोभाक जोकोभिचले जर्मनीका एलेक्सान्डर जभेरेभसँग उपाधिका लागि खेल्नेछन्। २८ मेदेखि शुरू हुने फ्रेन्च ओपनको पूर्वसन्ध्या भएको सो प्रतियोगिता जोकोभिचले चार पटक जितेका छन्। सर्बियाली खेलाडीका लागि यो जनवरीपछि पहिलो फाइनलसमेत हो।

शुक्रबार जोकोभिचले दुई खेल खेलेका थिए। हुआन मार्टिन डेल पोट्रोविरुद्धको क्वार्टरफाइनल खेल अघिल्लो दिन वर्षाले रोकिएको थियो। सो खेल पुनः सुचारु हुँदा जोकोभिचले ६–१, ६–४ ले जिते। ७ घण्टापछि खेलिएको सेमिफाइनल खेलमा अस्ट्रियाका डोमिनिक थिमलाई ६–१, ६–० ले सहजै पन्छाएर उनी फाइनल पुगे।

थिमले क्वार्टरफाइनलमा क्लेकोर्ट किंग राफाल नाडाललाई हराएका थिए। जोकोभिचले जनवरीमा दोहामा उपाधि जिते पछि फाइनल पुग्न संघर्षरत थिए। रोममा आठौं फाइनल खेल्ने तय गरेका उनले यसअघि २००८, २०११, २०१४, २०१५ मा उपाधि जितेका थिए। अर्को खेलमा जभेरेभले अमेरिकाका जोन इस्नरलाई ६–४, ६–७, ६–१ ले हराएका थिए।

प्रतिक्रिया दिनुहोस्