चलचित्र पत्रकारिता दिवस, ४ पत्रकारलाई सम्मान र पुरस्कार



चलचित्र पत्रकार संघ नेपालले आइतबार आफ्नो स्थापना दिनलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै ४ चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।

राजधानीमा आयोजित एक समारोहबीच डा. नवराज लम्साललाई चलचित्र पत्ररकारिता सम्मान–२०७४ प्रदान गरियो। डा. लम्सालको अनुपस्थितिमा उनको सम्मान उनकी पत्नी संगीता लम्सालले ग्रहण गरेकी थिइन्। फिल्मकर्मी तथा पत्रकारहरूको सहभागितामा सम्पन्न समारोहमा प्रमुख अतिथिद्वय ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्य र नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलगायतका अतिथिद्वारा सगरमाथा टेलिभिजनका पत्रकार पारस पौडेल र अनलाइन खबरका पत्रकार विजय आवाजलाई नगद २१ हजार रुपियाँसहित चलचित्र पत्रकार पुरस्कार–२०७४ प्रदान गरिएको थियो।

संघका अध्यक्ष सन्दीप सापकोटाको सभापतित्वमा सम्पन्न समारोहमा यसै वर्षबाट थालनी गरिएको चलचित्र पत्रकार प्रोत्साहन पुरस्कार पहिलो पोस्ट अनलाइनकी स्वेच्छा राउतलाई प्रदान गरीएको छ। उनलाई प्रोत्साहनस्वरूप ल्यापटप प्रदान गरिएको छ। सोही अवसरमा भोकल कर्डको क्यान्सरसँग जुधिरहेका अभिनेता दीपक क्षत्रीको स्वास्थ्य उपचारका लागि संघको आह्वानअनुसार विभिन्न व्यक्ति तथा संस्थाबाट संकलित ७ लाख, ३ हजार ३ सय ७५ रुपियाँ संघका अध्यक्ष सन्दीप सापकोटाले क्षत्रीलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा सम्मानित तथा पुरस्कृत पत्रकारहरूको बारेमा तयार पारिएको अडियो भिडियो सामग्री पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष सन्दीप सापकोटाले चलचित्र परकारिताको क्षेत्रमा योगदान पुर्याएबापत सम्मान र पुरस्कार प्रदान गरिँदै आएकोमा यस वर्षबाट चलचित्र पत्रकारिता प्रोत्साहनसमेत थपिएको बताए। त्यसै गरी हास्य अभिनेता आचार्यले चलचित्र पत्रकार संघ १८ वर्षे बालिग भइसकेकाले राम्रा फिल्मलाई मात्र प्रोत्साहन दिनुपर्नेमा जोड दिए। ‘१८ वर्षमा मानिसले भोट हाल्ने अधिकार प्राप्त गर्छ। अब यो संघले भोट हाल्न पाउँछ, यसले राम्रो फिल्मलाई मात्र भोट हालोस्। कहिलेकाहीं पत्रिकामा कुनै फिल्मलाई असाध्यै राम्रो भनेर लेखेको देखेर हलमा गएर हेर्दा न फिल्म राम्रो हुन्छ, न हलमा मान्छे नै हुन्छन्।

राम्रालाई मात्र प्रोत्साहित गरौं’, हरिवंशले पुराना दिन सम्झँदै भने– ‘म कुनै बेला फिल्मको एउटा सिन खेल्न बालाजुसम्म हिँडेर पुग्थें। अहिले मभन्दा चलचित्र क्षेत्र २०⁄२२ वर्ष बुढो होला। बुढ्यौली लागे पनि चलचित्र क्षेत्र स्थिर हुन सकेको छैन।’ त्यसै गरी पत्रकार महासंघका अध्यक्ष डा. विष्टले पहिलेको तुलनामा चलत्रिच पत्रकार र पत्रकारिताको अवस्था फस्टाएको बताए। ‘पत्रकारिता जहिले पनि आलोचनात्मक हुने गर्छ तर त्यो आलोचना कतिको वास्तविकतामा आधारित छ भन्ने कुराले महत्त्व राख्छ’ –उनले भने। त्यस्तै संघका पूर्वअध्यक्ष तथा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले समाचार पर्वाह गर्दा आग्रह र पूर्वाग्रह राख्नबाट बच्न सके चलचित्र पत्रकारको मर्यादा बढ्नेमा जोड दिए। त्यसै गरी संघका संस्थापक अध्यक्ष भरत शाक्यले सानो समूहमा मनाइने चलचित्र पत्रकारिता दिवस अहिले सबैतिर स्वीकार्य भएकोमा खुसी व्यक्त गर्दै यो दिवस मनाउने शैलीलाई फेर्दै जानुपर्ने औंल्याए।

त्यसै गरी चलचित्र विकास बोर्डका सदस्य अशोक प्यासी राईले चलचित्र जस्तै चलचित्र पत्रकारहरूको अवस्था पनि पहिलेको तुलनामा परिवर्तन भएको चर्चा गरे। सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा संघका महासचिव अनिल यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संघको स्थापना दिवसको अवसरमा केक काटेर कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्