अन्तर्घातको पाठ



गत वैशाख ३१ मा सम्पन्न स्थानीय निकाय निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। सम्पन्न स्थानीय निकाय निर्वाचनमा तीन ठूला पार्टीले एकछत्र राज गर्ने अवस्था देखिएको छ। पहिलो चरणमा नेकपा एमालेले सबैभन्दा बढी स्थान जितेको छ भने त्यसपछि दोस्रो र तेस्रोमा नेपाली कांग्रेस र माओवादी केन्द्रले जितेका छन्। अन्य दलहरूले भने आफ्नो साख पनि जोगाउन सकेनन्। स्थानीय निकाय निर्वाचनको परिणाम बाहिर आउन थालेपछि केही दलमा अन्तर्घातको चर्चासमेत हुन थालेको छ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा सबैभन्दा बढी असन्तुष्टि देखा परेको छ र कतिपय नेतालाई कारबाही गर्नुपर्ने भन्दै पार्टी सभापतिकहाँ उजुरी पुगेको समाचार सार्वजनिक भएका छन्। नेपाली कांग्रेसले अन्तर्घातका कारण चुनावमा दोस्रो स्थानमा पुग्नुपरेको निष्कर्ष निकाल्दै कांग्रेसले गुटको राजनीति अन्त्य नगरे अझै नराम्रो हार व्यहोर्नुपर्ने निष्कर्ष निकाल्दै अन्तर्घातमा सहभागी नेतालाई कारबाही गर्नेसम्मको टिप्पणी कांग्रेसजनमा आउनु पक्कै
राम्रो सन्देश होइन।

पार्टी कार्यकर्तामुखीभन्दा पनि नेतामुखी भएका कारण यो समस्या आएको भन्दै नेतालाई राजधानीमा बसेर टिकट बाड्ने होइन कार्यकर्ताको भावनाको कदर गर्नुपर्ने माग तीव्ररूपमा आइरहेको छ। यसमा कांग्रेस नेतृत्वको ध्यान जान सकेन भने अर्को चुनावमा योभन्दा पनि बढी ठूलो क्षति पार्टीले व्यहोर्नुपर्ने निश्चित छ। गुटैगुटको पोको बनेको कांग्रेसले आफूलाई आत्मसमीक्षा गर्ने बेला आएको छ। होइन भने यस्ता घटनाक्रमले कांग्रेसलाई कहाँ पुर्याउँछ भन्न सकिन्न।

त्यस्तै संसद्को अर्को ठूलो दल नेकपा एमालेभित्र पनि अन्तर्घातले काम गरेको देखिएको छ। स्थानीय निकाय निर्वाचनमा बागी उम्मेदवारी नपरे पनि सो पार्टीभित्रको आन्तरिक कलहले भने जित्ने केही ठाउँमा पार्टीका उम्मेदवार हारेपछि अहिले उसले पनि समीक्षा गर्न थालेको छ। एमाले पनि गुटैगुटले
जेलिएको पार्टी हो।

त्यहाँ पनि स्थानीय कार्यकर्ताको भावनाभन्दा बाहिर गएर टिकट वितरण गरेपछि उसले हार व्यहोर्नुपरेको हो। त्यस कारण दलको नेतृत्वले आफ्नो व्यक्तिगत हठ देखाउँदा कार्यकर्तामा देखिएको निराशा मतदानमा प्रकट भएको मान्न सकिन्छ। त्यस कारण दलका शीर्ष नेताहरूले आफ्नो मान्छे भन्दा पनि राम्रो मान्छे चयन गर्नुको विकल्प देखिँदैन।

प्रतिक्रिया दिनुहोस्