ट्रम्प साउदी अरेबियामा



साउदी र अमेरिकाबीच १ खर्ब १० करोडको हतियार खरिद सम्झौता
रियाद, (एजेन्सी) राष्ट्रपति पद सम्हालेपछिको आफ्नो पहिलो विदेश यात्राका क्रममा साउदी अरेबिया पुगेका डोनाल्ड ट्रम्पले साउदी तथा अमेरिकाबीच ३ खर्ब ५० अर्ब अमेरिकी डलरको विभिन्न सहमति भएको बताए।

दुई देशबीच १ खर्ब १० अर्ब अमेरिकी डलरको हतियार खरिद सम्झौता पनि भएको जनाइएको छ। ह्वाइट हाउसले उक्त सम्झौता अमेरिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो हतियार सम्झौता भएको जनाएको छ। स्थानीय समय शनिबार बिहान ट्रम्प र उनकी पत्नी मेलानियालाई साउदी अरेबियामा त्यहाँका नरेश सलमानले स्वागत गरेका थिए।

अमेरिकामा एफबीआईका निर्देशक जेम्स कोमीलाई पदबाट हटाएको घटनालाई लिएर व्यापक बहस भइरहेको बेला ट्रम्प ८ दिनको विदेश भ्रमण शुरू भएको हो। यस यात्राका क्रममा ट्रम्पले इजरायल, प्यालेस्टाइन अधिनस्थ, भ्याटिकन सिटी र सिसली जाने कार्यक्रम रहेको छ। साउदी अरेबियासँग भएको हतियार सम्झौता इरानको दुस्प्रभावको जवाफ दिएका लागि भएको अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले बताए। रियादमा एक प्रेस वार्तामा टिलरसनले भने– ‘रक्षा प्रणाली र सेवाको यो प्याकेज साउदी अरब र समग्र खाडी क्षेत्रको दीर्घकालीन सुरक्षालाई बलियो पार्नेछ।

ट्रम्पसँग उनकी छोरी इवान्का र ज्वाइँ जेरेड कुसनर पनि यात्रामा सहभागी छन्। इवान्का बिना तलब ह्वाइट हाउसमा सल्लाहकार छिन् भने कुसनर ट्रम्प प्रशासनका महत्त्वपूर्ण सदस्य हुन्।

बेलायती प्रधानमन्त्री टेरिजा मे र जर्मन चान्सलर एन्जेला मर्केलले जस्तै इवान्का ट्रम्प पनि टाउको नछोपीकनै साउदी अरेबिया पुगेकी छिन्। यद्यपि सन् २०१५ मा तत्कालीन प्रथम महिला मिसेल ओबामा टाउको नछोपी साउदी अरेबिया जाँदा ट्रम्पले त्यसको आलोचना गरेकी थिइन्।

ट्रम्पले अरब इस्लामी अमेरिकी शिखर सम्मेलनमा पनि भाग लिने र इस्लामका बारेमा आफ्नो विचार राख्ने जनाइएको छ। उनले योपटक इस्लामको शान्तिपूर्ण दर्शकका विषयमा बोल्ने अनुमान गरिएको छ।

ट्रम्पको भाषणको असर विश्वभरि हुने उनका सहयोगीले अपेक्षा गरेका छन्। उनले शान्ति प्रगति र समृद्धिको साझा दृष्टिकोण विश्व अगाडि राख्ने बताइएको छ। अमेरिकी राष्ट्रपतिमा आएपछि ट्रम्पले आफूले गरेको प्रतिबद्धताअनुसार केही मुस्लिम बहुल राष्ट्रका नागरिकमाथि अमेरिका प्रवेशमा निषेध लगाएका थिए तर राष्ट्रपतिको आदेशलाई अदालतले रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्